पर्वत खुर्कोटमा ‘एक घर एक धारा’ अभियान शुरु

असोज १२, पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्कोटमा खानेपानीको समस्या समाधान गर्न एक घर एक धारा कार्यक्रम शुरु भएको छ । खानेपानीको समस्या समाधान गर्न एक घर एक धारा कार्यक्रमको शिलान्यास भएको छ ।

कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कार्यक्रमको शिलन्यास गर्नुभएको छ । उहाँले खानेपानीको समस्या समाधान गर्न यो कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । कुश्मा नगरपालिकाको गौरवको योजनाको रुपमा कार्यक्रम शुरु भएको र योजना समयमै सम्पन्न हुने जोशीले विश्वास व्यक्त गर्नुभयो कुश्मा नगरपालिकाका लेकाली बस्तीमा लिफ्ट मार्फत र मुल भएका स्थानमा सिधै पाईप मार्फत पानी ल्याएर खानेपानीको सुविधा पुराउने काममा आफुहरु लागिपरेको बताउनुभयो । विकासका हरेक काममा जनसहभागिता र सहकार्य आवश्यक रहेको बताउँदै नगरप्रमुख जोशीले दिगो विकासको लक्ष्य हासिल गर्ने किसिमले नगरपालिकाले काम गरिरहेको अवगत गराउनुभएको छ ।

खानेपानी आयोजनाको शिलन्यास कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिकासको अत्यावश्यक कुरा पानी रहेकाले यो महत््वपूर्ण कार्यक्रमलाइ सबै लागेर सम्पन्न गर्न अनुरोध गर्नुभयो । लामिछानेले खानेपानीको योजना सम्पन्न गर्न स्थानीयको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । पानी जीवन हो भन्ने मुल मन्त्रलाई अगिंकार गर्दै नगरपालिका सबै ठाउँमा सहज पानीको व्यवस्थापन गर्न दत्तचित्त भएर लागिपरेको उपप्रमुख लामिछानेले उल्लेख गर्नुभएको थियो । उपप्रमुख लामिछानेले पानी संगै आयआर्जनमा पनि जुट्न स्थानीयलाई अनुरोध गर्नुभयो ।

कुश्मा २ का वडा अध्यक्ष यदुनाथ वास्तोलाले आफ्नो चुनावी कार्यक्रममा विभिन्न ठाउँमापुग्दा सबै ठाउँका जनताले पानीको समस्या देखाएको स्मरण गर्दै आफु निर्वाचित भएको दिन देखीनै खटेर वडामा खानेपानीको समस्या समाधान गर्न लागेको बताउनुभयो । अध्यक्ष वास्तोलाले योजना संचालन गर्न सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद दिंदै यो कार्यक्रमलाइ सबै मिलेर सफल पार्न अनुरोध गर्नुभयो ।

नेपाल सरकारको विशेष खानेपानी आयोजना अन्तर्गत यो कार्यक्रम संचालन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बाग्लुङका इन्जिनियर राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उक्त योजनाका लगि नेपाल सरकारबाट ७ करोड ८० लाख २ हजार विनियोजन भएको हो । त्यस्तै जनसहभागिताबाट ४ करोड ३ लाख ८९ हजार गरी कुल ११ करोड ५८ लाख ९१ हजार लागतमा खानेपानी योजना सम्पन्न हुने डिभिजन इन्जिनियर न्यौपानेले बताउनुभयो । योजनाबाट स्थानीय ६ सय ७२ घरधुरीका ३६ सय ३९ जनसंख्या लाभान्वित हुनेछन् ।

कार्यक्रममा नेकपा पार्टी प्रतिनिधि कृष्ण बहादुर नेपाली, नेपाली कांग्रेस पर्वतका सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले बोल्नुभएको थियो । खानेपानी उपभोक्ता समिती उपाध्यक्ष घनराज पौडेलको सभापतित्व भएको कार्यक्रममा संचालन खानीपानी उपभोक्ता समिती सचिब शेषराज रेग्मीले गर्नुभएको थियो भने स्वागत उपभोक्ता समिती सहसचीव रबिलाल शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा उपभोक्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०१:५४