के कांग्रेस असान्दर्भिक हुँदै छ ?

विषय अथवा प्रसंगले अन्यथा अर्थ नलागोस्, महाधिवेशनउन्मुख भए पनि अचेल धेरैलाई नेपाली कांग्रेसप्रति स्नेहजन्य चिन्ता लाग्दैन, फिटिक्कै । त्यसैले कांग्रेस चर्चाको विषय नै होइन भन्नेहरूको संख्या पनि निरन्तर बढ्दो छ । कांग्रेसको स्नेहजन्य चिन्ता लाग्दैनको अर्थ कम्युनिस्टको लाग्छ भनेको किमार्थ होइन ।

आजको विश्वमा कम्युनिस्ट हुनुपर्ने, सत्तामा कम्युनिस्ट पुग्नु त कहाँ हो कहाँ, गाउँ घर सहर गल्लीमा देखिनुपर्ने नै होइनस यो विचारै सान्दर्भिक छैन । तर, नेपालमा चाहिँ विचित्र छ, यिनकै रजगज छ । अहिले देशमा, त्यो पनि लोकतान्त्रिक देशमा, त्यो पनि निर्वाचित भएर कम्युनिस्ट आउनु वास्तवमा स्वयंलाई लोकतन्त्रप्रेमी हुँ भन्नेका लागि लज्जाजनक अवस्था हो । त्यसमाथि आफैंलाई लोकतन्त्रको मियो भन्नेहरूका लागि त झनै लाजमर्दो हो । तर लाज लाग्नुपर्नेलाई नलागेपछि अरूलाई लागेर भएन । यस विश्वपरिवेशमा आफैं सोच्नुहोस्, कम्युनिस्ट पनि कतै जित्छन् होला १ जित्नु पनि फेरि लरतरो हो र, झन्डै दुईतिहाइ बहुमतले १ साँच्चै भन्ने हो नेपालमा कम्युनिस्टले चुनावै जितेर रजगज गरिरहेको हुनु नै आश्चर्यप्रद हो, त्यो पनि त्यति लामो इतिहास भएको कांग्रेसलाई सखापै पारेर ।

यथार्थमा कांग्रेसका असफलताको परिणाम नै कम्युनिस्टको उत्थान थियो र अझै पनि हो । दुर्भाग्यवश, यो अवस्था अझै परसम्म तानिने सम्भावना छ । हो, तबसम्म छ जबसम्म वैकल्पिक लोकतान्त्रिक शक्तिको उदय हुँदैन । देशमा त्यस्तो शक्तिका लागि ठाउँ र सम्भावना दुवै छ तर सम्भावित भनिन चाहने विवेकशील र साझा पार्टी दुवै असन्तुष्टिका पोका, यताबाट उता र उताबाट यता सार्ने भरियाजस्ता मात्रै हुन पुगेको देखिएका छन् । वैकल्पिक शक्तिको सम्भावना नभएको होइन तर दुवैले भरोसा त परै आससम्म जगाउन सकेनन्, सकेका छैनन् र आस जगाउने किसिमको उनीहरूको तयारी पनि देखिँदैन । विवेकशील र साझा जोडिए तर जोडिएर जुट्न सकेनन् । फुटे । सुनिँदै छ, फेरि जुट्न खोज्दै छन् । यस विषयमा उनीहरू जुटेछन् भने सोही बखत चर्चा गरिने नै छ । यहाँ विकल्प भनेर तामझामसाथ घोषणा गरिएको तत्कालीन माओवादी विद्रोहका सिद्धान्तकार बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्तिको चर्चै नगरौंस त्यो फगत हल्लीखल्ली थियो, हल्लैमा सिद्धियो ।

विकल्पहीनताको यस अवस्थामा यसर्थ फेरि पनि धेरैको ध्यान कांग्रेसतर्फ जान बाध्य हुन्छ । इच्छापूर्वक होइन, बाध्यतावश । एक थरी अझै निश्चय नै लोकतन्त्रको मर्मरक्षाको सम्पूर्ण जिम्मेवारी कांग्रेसले नै पाएको छ भन्ने गर्छन् । कतिपयका वक्तव्यहरूमा त्यस्तै पढ्न पाइन्छ, मानौं कांग्रेस नै लोकतन्त्रको पालनहार हो । जबकि आजका मिति र यसको चौधौं महाधिवेशनको तयारी र त्यसपश्चात् यसले लिने दिशा प्रस्ट नहुन्जेल यसै भन्न सकिने अवस्था छैन । आउँदो केही कालसम्म यही अलमल र अन्यमनस्कताको अवस्था नै विद्यमान रहनेछ । पद्धतिको मर्मरक्षा र लोकतन्त्रसहितको नेपालको सुदूर भविष्यतर्फको यात्रा सुनिश्चित हुने वातावरण वास्तवमा विशेष गरेर कांग्रेसको तेह्रौं महाधिवेशनपश्चात् निरन्तर बिथोलिँदै गएको हो ।

कांग्रेसकै साख साँच्चैचाहिँ समाप्तिउन्मुख ९तत्कालीन० माओवादी केन्द्रलाई सभापति शेरबहादुर देउवाले सरकारमा सहकार्य गरेर बचाइदिएपछि नराम्ररी ओरालो लागेको हो । यसले गर्दा तत्कालीन माओवादी केन्द्र अध्यक्ष प्रचण्ड अर्थात् पुष्पकमल दाहालको निभ्दो राजनीतिक दियो फेरि झरझराउँदो भएर बल्न थाल्यो । दोस्रो संविधानसभाको निर्वाचनले असान्दर्भिक बनाइदिएका प्रचण्ड देउवाको दुष्प्रयोगका कारण भावी नेकपाका एक अध्यक्षका रूपमा प्रस्फुटित हुन पुगे र यसको फलस्वरूप कांग्रेसतर्फ भने यसका पंक्तिमा बाँकी रहेको ऊर्जासमेत ध्वस्त हुने परिस्थिति बन्न गएको हो ।

यसैकारण केन्द्र र प्रदेश निर्वाचन नजिकिँदै गर्दा प्रचण्डको माओवादी पुनश्च जागिसकेको र एक हातले कांग्रेस र अर्को हातले तत्कालीन एमालेसित बार्गेन गर्न सक्ने अवस्थामा पुगिसकेको थियो । यसैका बलमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डका बीच सहकार्यको मार्गप्रशस्त त भयो नै, मूलतः त्यसैकारण कांग्रेस आफू भने केन्द्र र प्रदेशमा अत्यन्त दयनीय अवस्थामा पुग्यो । पछिल्लो कालखण्डमा कांग्रेसले गरेको महत्त्वपूर्ण काम यही थियो– फुटेका कम्युनिस्ट जोडाएर आफूलाई केन्द्रदेखि प्रदेश र प्रकारान्तरमा स्थानीय तहसम्मै निरीह बनाउने र कम्युनिस्ट सत्तासँग भागशान्ति मागेर जीविका चलाउने । नियुक्तिहरूमा भाग खोज्ने र जनसरोकारका विषयमा वक्तव्य दिएर आरामसँग घरैमा जुम मिटिङ गरेर बस्ने । अहिले त कांग्रेस नेताहरूलाई झनै मज्जा छ, बहानाका रूपमा कोरोना छँदै छ ।

त्यसैले हुनुपर्छ, कांग्रेसलाई माया गर्नेहरू अचेल यसको के होला भनेर चिन्ता लाग्दैन भन्ने गर्छन् । किनभने चिन्ताको त्यति बेलासम्म अर्थ हुन्छ जति बेलासम्म यसले केही गर्छ, यसबाट केही हुन्छ भन्ने आस हुन्छ । आसबिना गरिएको चिन्ता वास्तविक हुँदैन, देखावटी हुन्छ । त्यसमा कुनै प्रयोजन शेष हुँदैन । जब आस मर्छ तब चिन्ता पनि लाग्न छाड्छ । सुन्दा कटु लाग्न सक्छ, तर सत्य हो, कांग्रेस रहोस्–नरहोस्, बाँचोस्–मरोस्, यसबारे जनस्तरको एउटा ठूलो पंक्तिलाई जिज्ञासै हुन छाडेको छ, परिवारै कांग्रेस भनेर चिनिएका बाहेक । विद्यार्थीकालबाटै कांग्रेस बनाउने संस्था नेपाल विद्यार्थी संघ र तन्नेरीका लागि आकर्षक बन्नुपर्ने तरुण दल दुवै लथालिंग छन् । पुराना शिथिल र नयाँ जन्मनेको स्रोत नै सुक्दै गएपछि के हुन्छ, त्यसको साक्षात् प्रमाण आजका मितिको कांग्रेस हो ।

वैचारिक गतिहीनताका कारण जिद्दी र अडियल बूढाहरू, बूढै भन्न सुहाउने युवाहरू र हुर्किंदै बूढेसकाल लागेका तन्नेरीहरूको जमावटजस्तो भएको छ कांग्रेस । यद्यपि ज्ञानीहरूका लागि वृद्धावस्था परिपक्वताको पर्याय हो तर ज्ञानशून्य छन् भने बूढा शिथिल, जिद्दी, अडियल हुन्छन् र तिनै बूढा मातहतका युवाहरू कस्ता हुनु, नूर गिरेका दासतुल्य हुन्छन् । त्यहाँ तन्नेरीहरूका लागि सृजनशील अवसर नै हुँदैन । कांग्रेस यस अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण हो निश्चय नै तर त्यहाँ ईख भएका कोही भए आज जतिसुकै निराशाजनक अवस्था भए पनि आगामी महाधिवेशन पूरै मैलोधैलो सफा गर्नलाई आँटिलो प्रारम्भ गर्न सकिने अवसर हुन नसक्ने होइन । आज कांग्रेस पूरै भुइँमै लम्पसार छ, इन्तु न चिन्तु भएजस्तै ।

अर्को कोणबाट हेर्दा, यस्तो अवस्था भनेको भयंकर ठूलो हाँक हो र आँटिलाका लागि एउटा नयाँ ध्येय दिने मौका हो । नयाँ, आँटिला, ऊर्जाशील नेतृत्वका निम्ति दुर्लभ मौका हो । म यहाँ को व्यक्ति कस्ता छन्, त्यता जान चाहन्नँ । देउवालाई होच्याउन र रामचन्द्र पौडेललाई उचाल्न चाहन्नँ । किनभने, आफ्नो नेतृत्वमा भएका चुनावहरूमा कांग्रेस पूरै क्षत–विक्षत हुँदासमेत न सभापति शेरबहादुर देउवाले पदत्याग गरे, न त पौडेललगायत नेताहरूले उनलाई पदबाट हटाउनै सके । पार्टीको दर्दनाक दशा हुँदासमेत पार्टीलाई त्यस्तो दुरवस्थामा पुर्‍याउने पात्रलाई हटाउन नसक्नुको कारण अझै इतरहरूले चित्तबुझ्दो गरी प्रस्ट्याउन सकेका छैनन् । बरु निर्वाचनपछि भएका समीक्षाको निष्कर्षस्वरूप उल्टै सामूहिक जिम्मेवारी लिएर सभापतिलाई अरू गैरजिम्मेवार हुन सजिलो बनाइदिएका थिए । अझ प्रस्ट भन्नुपर्दा, उनलाई हटाउनु त परै, देउवाइतरहरूले विशद विमर्श र समीक्षाका लागि विशेष महाधिवेशन आह्वानसम्म गर्न सकेनन् । प्रदेश र केन्द्रको निर्वाचनमा केन्द्र त परै, एउटै प्रदेशमा समेत सत्ता त बिर्सौं, सम्मानजनक प्रतिपक्ष बन्न नसक्दासमेत नेतृत्वलाई जिम्मेवारी लिन बाध्य पार्न सकेनन् । त्यसैले यस्ता इतरको भर पर्नुपर्ने आधार के भनेर प्रश्न उपस्थित छन्, तर तिनको उत्तर कतैबाट आएको छैन । त्यति लज्जाजनक पराजयपछि सभापतिले पदत्याग गर्नु त परै, नैतिक जिम्मेवारीसम्म लिएनन् ।

जिम्मेवारी नै नलिई उनी फेरि चौधौं महाधिवेशनमा समेत सभापतिको उम्मेदवार बन्ने भनिँदै छ । तर, उनका विरुद्ध को प्रस्तुत हुने भन्ने विषयमा हेर्नुहोस् विडम्बना, इतरपक्ष नै एकजुट छैन । एकजुट छैन किनभने कांग्रेसका नेताहरूमा आज सबैलाई एकै मञ्चमा भेला गर्ने विचारको अभाव छ । अभाव छ तर अभाव छ भन्ने बोध छैन । एक थरी, विशेष गरेर कोइराला थरको विरासत भएकाहरूलाई बीपी कोइराला नै विचार हुन्, यिनको नाम लिए पुगिहाल्यो भन्ने लाग्छ । विचारमाथि पुनर्विचारको आवश्यकता छ भन्ने नै लाग्दैन । निश्चय नै कांग्रेसजन रामचन्द्र पौडेललाई विचारक भन्छन् तर उनको विचारले सन् १९७० को दशकको समाजवादी प्रचारको घेरो पार गर्न सकेको छैन । उनी विश्व नै डिजिटलाइज भइरहँदा समाजवाद नै सबै कमीको आपूर्ति र कमजोरीको उपचार हो र कृषि क्रान्ति गर्नुपर्छ सब ठीक भइहाल्छ भन्ने मानेर आफैं मक्ख छन् । जमाना कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स० तर्फ उन्मुख छ, कांग्रेस महोदयहरू टाइपराइटरको युगका विम्बहरूमा समाधान खोजिरहेका छन् । बिचराहरू बीसौं शताब्दीका रंगमहलमा बन्द छन्, यो शताब्दीका नयाँ प्रारम्भको चेत नै छैन ।

हो नि, कांग्रेसले युगचेतलाई आत्मसात् गरिदिएको भए, कम्युनिस्टबाट देशको उद्धार हुन्छ भन्ने हास्यास्पद तर्क सुन्नुपर्ने अवस्थै आउने थिएन । देशमा कम्युनिस्टको पसल नै खुल्ने थिएन, खुले पनि चल्ने थिएन । तर पसल खुल्यो र चल्दै छ किनभने कांग्रेसले विचारलाई युगसापेक्ष अद्यावधिक गरेन, यसले परिवर्तित युगका माग बुझेर नेतृत्व प्रदान गर्ने नेतै पाएन, र आजका मितिमा भन्नुपर्दा, आगामी केही समयमै अद्यावधिक विचार र हर चुनौती सामना गर्न सक्ने टक्करको नेतृत्व दिन्छ भन्ने आस पनि जगाउन सकेको छैन । आस नजागेसम्म त्यसैले कसैले कांग्रेसको चिन्ता गरिदिँदैमा सार्थक परिणाम आउनेवाला छैन ।श्रीकृष्ण अनिरुद्ध गौतमद्धारा कान्तिपुरमा लेखेको लेख हामीले साभार गरेका हौँ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०३:०३