पर्वतको पिपलटारीका कृषकलाई २२ वटा यान्त्रिक हलो वितरण

असोज १७, पर्वत । पर्वतको कुश्मा नगरपालिका – ९ पिपलटारीमा रहेको कागती पकेट क्षेत्रका कृषकहरुलाई यान्त्रिक हलो (पावरटिलर) वितरण गरिएको छ ।
कागती पकेट क्षेत्र संचालक समितिले शुक्रवार एक कार्यक्रमको आयोजना गरी हलो वितरण तथा अभिमूखिकरण तालिम सम्पन्न गरेको हो । व्यावसायिक रुपमा कागती खेतीमा लागेका कृषकहरुलाई खनजोत गर्न र कागती गोडमेल गर्न सहज होस् भन्ने उद्धेश्यले कुश्मा नगरपालिका र कृषि ज्ञान केन्द्र पर्वतको लागत साझेदारीमा हलो वितरण गरिएको हो ।
कागती पकेट क्षेत्रमा रहेका पिपलटारीका ३ सय ४ परिवार अहिले व्यावसायिक रुपमा कागती खेतीमा लागेका छन् । भने यो क्षेत्रमा ९ हजार भन्दा बढि कागतीका बिरुवाहरु रोपिएको छ ।
कागती खेतीवाट प्रसस्त आम्दानी लिने उद्धेश्यले स्थानीय कृषकले अहिले अन्नवाली लगाउने र बाँझो रहेको जमिनमा समेत कागती खेती शुरु गरेका छन् । पकेट क्षेत्रका कृषकहरुलाई अब सिंचाईका लागि २ सय देखि २ हजार लिटर सम्मका पानी ट्याङ्की, ब्रस कटर,भर्‍याङ, प्राङ्गारिक मल, आरी सिकेचर, भिटामीन, मिनिरल मिक्स मल, विषादी, पावर स्प्रे, साना स्प्रे मेशीन र बगैचाका लागि आवश्यक पाईप लगायतका सामानहरु वितरण गरिने भएको छ ।

पकेट क्षेत्र निर्धारण भएसँगै पर्वतका कागतीको पहिलोपटक व्यावसायिक खेती शुरु गरिएको हो ।
यान्त्रिक हलो वितरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. ९ पिपलटारीका वडा अध्यक्ष सुजन विक अमरले व्यावसायिक रुपमा लागेका कृषकहरुलाई राज्यका तीनवटै तहका सरकारहरुले आवश्यक सहयोग गर्दै आएको बताउँदै बाँझो रहेको जमिनमा अझै खेती विस्तार गर्न आग्रह गर्नुभयो । कागती अहिले बजारको समस्या नभएको बताउँदै यसको विकास र विस्तार तथा बजारीकरणका लागि नगरपालिकाले निरन्तर सहकार्य गर्ने बताउनुभयो ।
कार्यक्रममा पकेट क्षेत्र संचालक समितिका अध्यक्ष ढाकाराम सापकोटाले राज्यवाट सेवा सुविधा पाईन्छ भनेर खेतीमा लागेको नभई आफ्नै जीवनस्तर सुधारका लागि हो भनेर सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो । उहाँले गत वर्षदेखि रोपिएका विरुवाहरुले आगामी वर्षवाट फल दिने बताउँदै यसको संरक्षण र विस्तारमा लाग्न पकेट क्षेत्रमा आवद्ध कृषकहरुलाई सुझाव दिनुभएको छ । सो अवरमा वडा सदस्य दिवाकर तिवारी, कुश्मा नगरपालिकाको कृषि शाखा प्रमुख बलबहादुर जिटी, र अर्जुन पौडेल, प्रशिक्षक जनक भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको संचालन कागती पकेट क्षेत्र संचालक समितिका सदस्य रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०४:२८