मध्यपहाडी लोकमार्गको पर्वत खण्डको काम शुरू,कुस्माको सडक चार लेन

असोज १८, पर्वत । कोरोना महामारीपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको निर्माण कार्य शुरू भएको छ । गत चैत्रको दोस्रो साता रोकिएको निर्माण असोजको दोस्रो सातादेखि शुरू भएको हो । पर्वत खण्डको निर्माण जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पनीले वर्षा रोकिएसँगै काम थालेको हो । भदौमा म्याद सकिने भए पनि अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ ।

‘लकडाउनले रोकिए पनि अब काम तीव रूपमा अघि बढ्छ,’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले भने, ‘घाम लागेका कारण दशैंपछि कालोपत्रको काम पनि थाल्छौं,’ उनले भने । निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वत प्रवेशद्वारदेखि मालढुंगासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको कम्पनीले रू. ८३ करोड ९८ लाख ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटरमध्ये संरचनागत काम ९५ प्रतिशत सकिएको छ । बागलुङको सीमाना मालढुंगादेखि नयाँपुलसम्म करीब ५ किलोमिटर कालोपत्र गरिएको छ ।

बाढीपहिराले त्यो खण्डका केही ठाउँमा सडक बिग्रेकाले पुनः कालोपत्र गर्नुपर्नेछ । ‘अहिले बाँकी स्ट्रक्चरको काम र बेस राखेको ठाउँमा वर्षाले बिग्रेको खण्ड सक्छौं,’ प्रोजेक्ट म्यानेजर भुसालले भने, ‘बाँकी यसै आर्थिक वर्षमा सक्ने तयारी छ । पहिले जस्तो विभिन्न कारणले काम नरोकिने उनको भनाइ थियो ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले काम शुरू गरेको व्यवस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन परिचालित भएकाले

असारसम्ममा काम सकिने विश्वास व्यक्त गरे । उनले निर्माण व्यवसायीले असारसम्मको म्याद मागेकाले समयमा कालोपत्रको सक्ने जानकारी दिए । रोकिएको काम शुरू भएपछि लोकमार्गको पर्वत खण्डमा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी सहितको टोलीले अनुगमन गरेको छ । स्थानीयस्तरमा देखिने समस्यालाई सहजीकरण गर्न प्रशासन तयार रहेको भन्दै उनले काम छिटो र गुणस्तरीय बनाउन आग्रह गरे ।

कुस्माको सडक चार लेन
मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ खण्ड स्तरोन्नतिका क्रममा पर्वतको कुस्माबजार खण्डको सडक चार लेनको बन्ने भएको छ । कुस्माको खरेहा देखि डम्डारेखोला सम्मको झण्डै दुई किलोमिटर चार लेनको बन्ने आयोजना प्रमुख आशिष थापा मगरले बताए । पहिले दुई लेनकै बनाउने योजना भए पनि अहिले चार लेनको रूपमा स्तरोन्नति हुन लागेको हो । त्यसका लागि आवश्यक सबै तयारी सकिएकाले चार लेनको सडक बन्ने कुरा पक्का भएको उनको भनाइ थियो । आयोजनाले ७२ किलोमिटर पोखरा बागलुङ खण्डलाई नयाँ स्वरूपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ । रासस

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०३:४५