पर्वतमा सरकारी छाप दुरुपयोग र किर्ते हस्ताक्षर गर्ने पक्राउ

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्मा बजारका विभिन्न ईन्सिच्युटमा छापा मारेको छ । सरकारी छापको दुरुपयोग र कार्यालय प्रमुखको किर्ते हस्ताक्षर गर्ने गरेको जनगुनासो आउनथालेपछि प्रहरीले इन्सिच्युटमा छापा मारेको हो ।

प्रहरीले सदरमुकाम कुश्मा बजारका १ दर्जन भन्दा बढि इन्सिच्युटमा छापा मारेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको नामबाट सरकारी प्रमाणहरु बनाउने गिरोहलाई प्रकाउ गरेपनि प्रहरीले उनीहरुको नाम खुलाएको छैन । प्रहरीले कतिजनालाई प्रकाउ गरेको छ भन्ने बारेमा पनि केही बोलेको छैन ।

सर्वसाधारणवाट मोटो रकम लिएर सरकारी छाप र कागजात किर्ते गरी नागरिकता, विवाह दर्ता, मुत्यु दर्ता,बसाईसराई लगायतका सरकारी प्रमाणपत्रहरु बनाउने गरेको पाईएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठका अनुसार न्यू मनकामना कम्प्युटर ईन्सिच्युटवाट ठुलो संख्यामा सरकारी छाप बरामद गरिएको छ ।

श्रेष्ठका अनुसार उनीहरुलाई बिहीवार मुद्धा दर्ता गरिने भएको छ । घटनाको विषयमा बुझ्न खोज्दा प्रहरीले भने यो बिषयलाई लुकाउन खोजेजस्तो देखिन्छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भुवेनेश्वर तिवारीलाई पटक– पटक फोन गर्दा, फोन नउठाएपछि उक्त घटनाको विषयलाई फरक ढंगवाट बिश्लेषण गर्न थालिएको छ ।

प्रकाशित मिति ४ पुष २०७५, बुधबार १६:४४