बागलुङ बजारको अव्यवस्थित तार र पोल हटाउन शुरू

असोज १८, बागलुङ । बागलुङ बजारमा लामो समयदेखि जीर्ण अवस्थामा रहेका विद्युत् पोल र तार हटाउन थालिएको छ । बागलुङ नगरपालिकाले नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा बागलुङ बजारको सौन्दर्यीकरणका लागि पुराना तार र विद्युत्का पोल हटाउने अभियान शुरू गरिएको हो ।

नगरपालिकाले गत वर्ष टेलिकम, विद्युत् प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अव्यवस्थित तार र पोल हटाउन निर्देशन दिए पनि पटक–पटक अवज्ञा भएको भन्दै नगरपालिकाले आजबाट शिवधारा चोकबाट तार र पोल हटाउने अभियान शुरू गरेको छ ।

एक वर्षको अवधिमा विद्युत् प्राधिकरणले बागलुङ बजारको १८० थान नयाँ विद्युत्का पोल राखेर विद्युत्लाई नाङ्गो तारमुक्त गरिसकेको छ । खुला तार हटाएका कारण बागलुङ बजारमा विद्युतीय दुर्घटनाको जोखिम पनि कम भएको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशालीले बताए ।

 ‘निकै चुनौती हुँदाहुँदै पनि हामीले खुला तार हटाएर विद्युत्का पोलसमेत व्यवस्थापन गरेका छौं,’ गोशालीले भने, ‘विद्युत्का तार नयाँ पोलमा सारे पनि इन्टरनेट र केबल तारले गर्दा पुराना विद्युतीय पोल हटाउन नपाएका कारण समस्या भएको थियो ।’     

बागलुङ बजारमा नेपाल टेलिकमले समेत तामाको अव्यवस्थित तार हटाउन शुरू गरिसकेको छ । टेलिकमले एक वर्षअघि नै तामाको अव्यवस्थित तार प्रतिस्थापन गर्ने उद्देश्यले फाइबर तारबाट सेवा प्रदान गरिरहेको छ । टेलिकमले तामाको तार हटाउने कार्यलाई तीव्रता दिए पनि इन्टरनेट तथा केबुल सेवा प्रदायकले भने पुराना विद्युतीय पोलबाट नयाँ विद्युतीय पोलमा तार सार्न नसक्दा समस्या भएको छ । बजार क्षेत्रको सबै अव्यवस्थित तार र पोल तीन महीनाभित्र हटाउने गरी शनिवारदेखि शिवधारा चोकबाट अभियानको शुभारम्भ गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । ‘केबल र इन्टरनेट सेवा प्रदायकले एक वर्षदेखिको निर्देशन अवज्ञा गर्दै आएका कारण समस्या थियो,’ नगरप्रमुख पौडेलले भने, ‘अब चार महीनापछि बागलुङ नगरपालिका केही हदसम्म सुन्दर हुनेछ ।’

विद्युत् प्राधिकरणले नयाँ पोल राखेपछि टेलिकमले नयाँ फाइबर तारसमेत नयाँ पोलमा राखे पनि इन्टरनेट र केबलको तार अझै पुरानै पोलमा छन् । यसलाई आजदेखि विद्युत् प्राधिकरणले पुराना पोल हटाउने र टेलिकमले तार काट्ने अभियान थालिएको नगरपालिकाका इञ्जीनियर गौरव शर्माले जानकारी दिए । विद्युत् प्राधिकरणका अनुसार बागलुङ बजारमा १८० ओटा पुराना विद्युतीय पोल हटाउनुपर्नेछ । रासस

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०३:५४