क्लिन फलेवास, ग्रीन फलेवास अभियानलाई प्रभाबकारी बनाउँछौ : नगरप्रमुख शर्मा

असोज १९,पर्वत । क्लिन फलेवास ग्रीन फलेवास अभियान प्रभावकारी नभएको भन्दै आवाज उठ्न थालेपछि नगरपालिकाले यसतर्फ ध्यान दिन थालेको छ । फलेवास नगरपालिकाको महत्वकांक्षी कार्यक्रम अन्तर्गत रहेको क्लिन फलेवास ग्रीन फलेवासलाई अझै प्रभावकारी बनाउँदै लैजाने नगरप्रमुख पदमपाणी शर्माले बताउनुभएको छ ।

आइतवार सम्पन्न क्लिन फलेवास ग्रीन फलेवासको नियमित बैठकलाई सम्वोधन गर्दै नगरप्रमुख शर्माले कोभिड १९ को प्रभावका कारण नगरपालिकाले हरेक क्षेत्र प्रभावित भएको बताउँदै नगरपालिकाको गौरबको योजनालाई सफलतापुर्वक सम्पन्न गर्न यो कार्यक्रमलाई अझै प्रभावकारी बनाईने बताउनुभयो ।

उहाँले क्लिन फलेवास ग्रीन फलेवास कार्यक्रमबाट जति उपलब्धि हासिल गर्नुपर्ने हो त्यति हुन नसकेको भन्दै अभियान्ताहरुले नागरिकलाई कार्यक्रम प्रति आर्कषित गर्नुपर्ने धारणा राख्नुभयो । दृढ आत्म सङ्कल्पका साथ आफुले लिएको जिम्वेवारी बहन गर्नुपर्नेमा शर्माले जोड दिनुभयो । साथै उहाँले आफुले गरेको कामको प्रभाव आफ्नो ठाउँमा मात्र नभएर छिमेकी नगरपालिका हरुमा पनि पर्नेगरी काम गर्न आग्रह गर्नुभएको छ । फरक प्रसंगमा बोल्दै शर्माले काममा थकान भएन भने त्यो काम पुणर् रुपमा सम्पन्न नहुने र काम सम्पन्न नभएसम्म बिचमा छोड्न नहुने बताउनुभयो ।
सो अवसरमा नगर उपप्रमुख मञ्जु अधिकारीले कार्यक्रम सफल बनाउन आ आफ्नो ठाउँबाट सबैले भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत मुक्तिराम रिजालले समाजमा भैरहेका गलत प्रचार र गलत प्रवृत्तिलाई चिर्न अभियान्ताहरुले भुमिका खेल्नुपर्ने भनाइ राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सिनाले अभियान सञ्चालनका क्रममा अबका दिनमा सुधार गरि लानुपर्ने कुराहरु र बिगतमा भएका कामहरुलाई सुधार गर्दै आगामी दिनमा कार्यक्रमलाइ अझै प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अभियानका संयोजक कमल घिमिरेले अभियान्ता हरुलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने, सरसफाइ र वृक्षारोपण जस्ता कार्यहरुलाइ नियमित सञ्चालन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
बैठकमा नगरका ११ वटै वडाका अभियान्ताहरुले वडागत रुपमा सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । साथै अभियानमा जोडिएर सामाजिक संगसंगै व्यक्तिगत जीवनमा पनि सकारात्मक प्रभाव परेको अनुभव सुनाएका थिए ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०१:१३