बन्यजन्तुवाट पीडित पर्वतका नागरिकले पाए राहात

असोज १९, पर्वत । पर्वतमा बन्यजन्तुको आक्रमणबाट क्षति व्यहोरेका पिडितले राहात पाएका छन् । डिभिजन बन कार्यालय पर्वतले राहातको माग गर्दै आएका निवेदनहरुको आधारमा २५ जना पिडितहरुलाई राहात तथा क्षतिपुर्ति रकम वितरण गरेको छ ।

आइतबार एक कार्यक्रमको आयोजना गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री विकास लम्सालले पिडितहरुलाई राहात हस्तान्तरण गरेका हुन् । विभिन्न १४ प्रकारका बन्यजन्तुले आक्रमण गरेमा क्षतिपुर्ति पाईनेगरी प्रदेशले कार्यविधि बनाएको मन्त्री लम्सालले बताए । राहात वितरणका क्रममा विभिन्न व्यक्तिहरुलाई ४ लाख ५५ हजार २ सय ५४ रुपैँया क्षतिपुर्ति स्वरुप वितरण गरिएको थियो ।

जसमध्ये चितुवाको आक्रमणबाट गत असारमा घाइते भएकी जलजला ४ माझफाँटकी पदमकुमारी मल्ललाई १ लाख ३७ हजार ७ सय ५४ रुपैँया प्रदान गरिएको थियो भने अन्य विभिन्न घरपालुवा जनावरको क्षति व्यहोरेका २४ जनालाई राहात रकम वितरण गरिएको थियो । आयोजित कार्यक्रममा भू तथा जलाधार कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल, कुश्मा नगरपालिका वडा नं. ५, ६ र ७ का वडा अध्यक्ष क्रमस चित्रकला शर्मा, रुद्र गिरी र सुवास पौडेल, डिभिजन बन अधिकृत मेघराज पौडेल लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन सहायक बन अधिकृत केशव पुडासैनीले गरेका थिए ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०१:५६