प्रदेश मन्त्री विकास लम्सालले शिलान्याश गरेका पुल अलपत्र

साजन परियार । कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वत खण्डमा निर्माणाधीन दुई पुल अलपत्र परेका छन् । फलेवास नगरपालिकाको मल्याङदीखोला र कुश्मा नगरपालिकाको मोदीखोलामा बन्दै गरेका पुल अलपत्र परेका हुन् । लोकमार्ग अन्तर्गत पर्वत खण्डको ट्रयाक पुरा भएपनि पुल अलपत्र पर्दा लोकमार्ग अधुरो भएको छ मोदीखोलाको पुल अघिल्लो वर्षको मंसिरमा निर्माण सुरु भएको थियो । लमायखोला र मोदी खोलाको पुल गत वर्ष नै निर्माण सुरु गर्नेगरी प्रदेशमन्त्री विकास लम्सालले शिलान्यास गरेका थिए । अलिकति काम थालेर त्यसै छाडिएको छ ।गत जेठसम्म कुश्मातर्फ र मोदीखोलाको बीचमा दुईवटा पिल्लर उठाएपछि काम अघि बढेको छैन । ठेकेदार सम्पर्कमै नआएको आयोजनाले जनाएको छ । ६० मिटर लम्बाईको मोदीखोलाको पुल ९ करोड १४ लाखमा मुक्तिनाथ कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो भने २५ मिटर लम्बाईको लमायखोला पुल ५ करोड ६४ लाखमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो ।
मल्याङदीखोलाको पुल भौगोलिक जटिलताका कारण ठेकेदारले निर्माण कार्य छोडेको जनाएको छ । मोदीखोलामा पानीको सतह बढेको वाहनामा पुल निर्माण कार्य रोकेको ठेकेदार कम्पनीले जानकारी दिएको छ । गतवर्ष नै बन्नुपर्ने पुल निर्माण मिति सकिँदा पनि जस्ताको तेस्तै हुँदा सर्वसाधारण आक्रोशित भएका छन् ।
करिडोर अन्तर्गत पर्वतको कुश्मादेखि स्याङ्जाको मिर्मीसम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्रयाक खुलिसकेको छ । यो सडकबाट पर्वत, स्याङ्जा, गुल्मी र बाग्लुङ बढी प्रभावित हुन्छन् । २०६४ सालमा काम शुरु भएको करिडोरको कामले गतवर्षदेखि गति लिएको थियो ।

प्रकाशित मिति ६ पुष २०७५, शुक्रबार ०१:११