बढ्दो महामारीले यात्रुको संख्या घट्दै गएपछि दसैँको अग्रिम टिकट खोल्ने–नखोल्ने अन्योल

असोज १९, काठमाडौँ । कोभिड संक्रमणको बढ्दो प्रकोपसँगै मध्यम र लामो दूरीका सवारीसाधनमा यात्रुको संख्या घट्दै गएको छ । सोही कारण हरेक वर्ष दसँै सुरु हुनु एक महिनाअघि खुल्ने अग्रिम टिकट बुकिङ खुल्ने–नखुल्ने टुंगो लागेको छैन ।

दुई हप्ताअघि नयाँ बसपार्कबाट दैनिक न्यूनतम १५ सय यात्रु टिकट काट्न आउने गरेकोमा करिब ५० प्रतिशत घटेको नयाँ बसपार्क व्यवस्थापन गरिरहेको ल्होत्से बहुउद्देश्यीय कम्पनीका महाप्रबन्धक सुनील कुँवरले बताए । उनले भने, ‘नियमित टिकट काउन्टर नै खाली–खाली छन् ।’

तर, यात्रु घटे पनि २५ असोजदेखि अग्रिम टिकट खोल्ने सम्भावना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । ‘शुक्रबार सबै सरोकारवालासँग बस्दै छौँ, त्यसपछि अग्रिम टिकट खोल्छौँ,’ उनले भने ।

परिस्थिति अझ भयावह भएर सरकारले नयाँ निर्णय गरे, त्यसैअनुसार हुने उनको भनाइ छ । आइतबार मात्रै स्वास्थ्य मन्त्रालयले जो जहाँ छ, त्यहीँ बसेर दसैँ मनाउन नागरिकहरूलाई आग्रह गरेको छ ।

यता यातायात व्यवसायी भने यो वर्ष दसैँ, तिहार र छठका लागि अग्रिम टिकट आवश्यक नरहेको बताउँछन् । ‘यसपटक अग्रिम टिकट खोल्ने निर्णय अहिलेसम्मको परिस्थितिले होला, आवश्यक देखिएको छैन,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने । काठमाडौं उपत्यकामा कलकारखाना, विद्यालय, कलेज, रेस्टुरेन्ट नखोलिएको र ती क्षेत्रमा संलग्न धेरै मानिस घरमै रहेकाले यो वर्ष यात्रु धेरै नहुने व्यवसायीहरूको आकलन छ । साभार–नयाँ पत्रिकावाट

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार ०३:२६