कुश्मा बाहेक अन्य सबै स्थानीय तहमा कोरोना अस्पताल बनाईदै

असोज २०, पर्वत ।कोरोना संक्रमितको उपचारका लागि सरकारले देशभरका ६ सय ४९ स्थानीय तहमा मेडिकल अधिकृतसहित ५ बेडको कोरोना अस्थायी अस्पताल बनाउने निर्णय गरेसँगै पर्वतका स्थानीय तहमा अस्थायी अस्पताल बनाउन जुटेका छन्। कुश्मा नगरपालिका बाहेक सबै स्थानीय तहले ५ बेडको अस्थाई कोरोना अस्पताल निर्माणको प्रक्रिया शुरु गरेका छन् । ३ महिनाका लागि निर्माण हुने अस्पतालका लागि आवश्यक जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, उपकरण खरिद लगायतका प्रक्रिया शुरु भएका हुन् । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय तहमा एक अस्पताल निर्माण गर्न ताकेता गरेपछि ६ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया थालेका हुन् ।

जलजला गाउँपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकामा अस्थाई कोरोना अस्पताल निर्माणको काम थालनी भएको हो । कुश्मामा भने अस्पताल बनिसकेको हुनाले कुश्मा नगरपालिकाले अस्पताल निर्माण गर्नुपर्ने छैन । सबैजसो स्थानीय तहले एक जना डाक्टर दुई जना नर्स र एक कार्यालय सहयोगीको माग गर्दै विज्ञापन माग गरिएको छ ।

नर्सहरुको बिज्ञापनमा दरखास्त परेपनि डाक्टरहरुको भने आबेदन परेको छैन । फलेवास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मुक्तिराम रिजाल र जलजला गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन शर्माले डाक्टरमा कसैको पनि दरखास्त नपरेको जानकारी दिनुभयो । ३ महिनाका लागि कोभिड विशेष अस्थाई अस्पताल निर्माण गरि सेवा सञ्चालन गर्नुपर्ने सरकारको नीतिमा उल्लेख छ ।

त्यसका लागि प्रत्येक स्थानीय तहलाई १०÷ १० लाख रुपैयाँ बजेट सरकारले पठाईसकेको छ । पैयुँ गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत नेत्रप्रसाद पौडेलले कोरोना भाईरसको संक्रमण समूदायमा फैलिन नदिन र गम्भीर बिरामीहरुको उपचार गर्न भन्दै सरकारले अस्थाई अस्पताल निर्माण गर्न भनेको बताउनुभयो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०१:२८