चोरी मुद्दामा संसदका उम्मेदवार पुगे थुनामा

असोज २०, राजविराज । चोरी लगत्तै पक्राउ परेका सप्तरीको रूपनी गाउँपालिका–२ हरीरावाका लाल मोहम्मद राइन र राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल थुनामा पुगेका छन् । थुनामा परेका राइन पछिल्लो संविधानसभाका उम्मेदवार हुनुका साथै गत चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा देशभक्त लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए ।

सप्तरी जिल्ला अदालतको आदेशमा राइन र मण्डल पुर्पक्षका लागि थुनामा परेको तथा राजविराज–४ बस्ने ज्योति मण्डल सहनी र उनकै मदिरा पसलमा काम गर्ने समिम सलिमलाई पुर्पक्षका लागि ७५ हजार धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । धरौटी रकम तिर्न नसक्दा समिमलाई पनि राजविराज कारागारमा थुनामा पठाइएको स्रेस्तेदार कुमार मास्केले बताए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार घटनालगत्तै प्राप्त सूचना र प्रहरी सक्रिय हुँदा आठ घण्टाभित्रै चोरी भएको ३ लाख ६० हजार नगद र ५० हजारको रिचार्ज कार्डसहित प्रहरीले चार आरोपितलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०८:०९