बेहोस भएमा वा होला जस्तो भएमा मात्रै अस्पताल जान स्वास्थ्य मन्त्रालयको आग्रह

असोज २२, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या आक्रामक रुपमा बढ्न थालेको भन्दै काठमाडौँ उपत्यकाबासीलाई अत्यन्त सजग रहन आग्रह गरेको छ ।

काठमाडौँका अस्पतालहरुले अब यो भन्दा धेरै भार थेग्न सक्ने अवस्था नरहेको बताउँदै मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सामान्य रुघाखोकी लागेका बिरामीलाई अस्पताल नआउन आग्रह गर्नुभयो ।

बिरामीलाई स्वास फेर्न कठिन भएमा, बेहोस भएमा अथवा बेहोस होला होला जस्तो भएमा मात्रै अस्पताल आउन उहाँले आग्रह गर्नुभयो ।

‘सामान्य रुघाखोकी लाग्दैमा ज्वरो आउँदैमा अस्पताल जाने क्रम बढेको छ। कुनैपनि बिरामीलाई श्वासफेर्न गर्न गाह्रो भएमा बेहोस भएमा वा होला जस्तो भएमा पिसाब नभएमा वा कम भएमा त्यस्तो अवस्थामा मात्र अस्पताल जान हामी यहाँहरुलाई अनुरोध गर्दछौँ’, उहाँले भन्नुभयो।

यसअघि नेपालमा कोरोना संक्रमणको सुरुवाती चरणमा सरकारले कोरोना निको नहुँदै अस्पतालबाट बिरामीहरुलाई डिस्चार्ज गर्ने रणनीति अपनाएको थियो भने अब गम्भीर अवस्थामा मात्रै अस्पताल आउन भन्न थालेको छ ।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार २३:५७