सरकारले भन्योः ढुक्क हुनुस्, अब देशव्यापी लकडाउन हुन्न

असोज २२, काठमाडौँ । सरकारले अब मुलुकमा देशव्यापी लकडाउन नहुने स्पष्ट पारेको छ। २५ हजार सक्रिय संक्रमित पुगेपछि कोरोना संक्रमण नियन्त्रणमा लिन फेरि लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको थियो।

तर सरकारले भने अब देशव्यापी लकडाउन हुने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। सरकारका प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशव्यापी लकडाउन हुने कुनै सम्भावना नरहेको बताउनुभयो।

संक्रमण बढी रहेका क्षेत्रमा स्थानीय तहले नै निषेधाज्ञा लगायतको आदेश जारी गर्न सक्ने तर सरकारका तर्फबाट देशव्यापी लकडाउनको सम्भावना अब नरहेको मनत्री ज्ञवालीले जानकारी दिनुभयो।

स्वास्थ्य मन्त्रालयले दुई साता अघि अब देशमा २५ हजार भन्दा धेरै सक्रिय संक्रमितको संख्या पुगे फेरि लकडाउन गर्नुपर्ने सिफारिस सरकारलाई गरेको थियो।

पछिल्लो चौबिस घण्टामा ३ हजार ४ सय ३९ जना संक्रमित थपिएसँगै नेपालमा आज सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ।

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेसँगै फेरि लकडाउन हुन सक्नेबारे अड्कलबाजी भइरहँदा सरकारले देशव्यापी लकडाउनको सम्भावना अब नरहको स्पष्ट पारेको हो।

प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार ००:००