डा. केसीको जीवन रक्षा गर्न मानवअधिकार संगठन पर्वतको आग्रह

असोज २३, पर्वत । नेपाल मानव अधिकार संगठन पर्वतले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ । संगठनका अध्यक्ष माधव पौडेलले शुक्रवार (आज) विज्ञाप्ति निकालेर केसीले उठाएका मागलाई गम्भीरतापूर्वक लिन र विगतमा भएको सम्झौता पालन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको होे ।

‘डाक्टर केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाल मानव अधिकार संगठन पर्वत जोडदार माग गर्दछ,’ संगठनले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

‘अनशनका कारण उहाँको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उहाँको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद विषय हो,’ अध्यक्ष पौडेलले भन्नुभएको छ, ‘सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गर्नु भएको सत्याग्रह प्रति ऐक्यबद्धता जनाउँदै आपसी विमतिका विषय वार्ता र संवादको माध्यमबाट समाधान गर्न तथा आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि संगठनले सरकारको ध्यानाकर्षण गराएको छ ।

डाक्टर गोविन्द केसी भदौ २९ गतेदेखी जुम्लामा आमरण अनशनरत छन् । अनशनमा रहेका प्रा.डाक्टर गोविन्द केसीको मागका सम्बन्धमा सहकारी वार्ता टोली र केसीका प्रतिनिधीबीचको वार्ता बिहिवार विना निर्कष स्थगित भएको थियो ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार ०६:०३