भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्रको बजेट ९ करोड ९८ लाख

असोज २३, पर्वत । पर्वत र बागलुङ जिल्ला हेर्ने गरी बागलुङमा मुख्य कार्यालय रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले आर्थिक बर्ष २०७७ / ७८ को बजेट तथा कार्यक्रम सार्वजानिक गरेको छ । कार्यालयले चालु आर्थिक बर्षमा ९ करोड ९८ लाख ७४ हजार रुपैयाँ पशु पालक कृषकको लागि खर्च गर्ने भएको छ । यसमा पुजिगत खर्च २ करोड ३२ लाख र चालु खर्च ७ करोड ६६ लाख ७४ हजार रहेको छ । त्यसमध्ये प्रशासनिक तथा उपभोग खर्च १ करोड ९ लाख ८४ हजार रुपैयाँ रहेको छ भने कार्यक्रम खर्च ८ करोड ८८ लाख ९० हजार रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका वरिष्ठ पशु विकास अधिकृत शम्भुराज पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेले पुँजिगत खर्च कार्यक्रम अन्तर्गत भवन निर्माण, गाडि खरिद, मेशिनरी औजार र फर्निचर खरिदका लागि खर्च शिर्षक राखिएको अन्य प्राय कार्यक्रम किसान केन्द्रीत भएको बताउनुभयो ।

चालु आर्थिक वर्षमा केन्द्रले साना व्यवसायीक फर्म स्थापना तथा विस्तार, उत्पादनमा आधारित अनुदान, पशुपंक्षी बिमा प्रिमियममा २५ प्रतिशत अनुदान, नयाँ पशुपंक्षी तथा मत्स्य पकेट विस्तार, फार्म यान्त्रिकीकरण, भैसी विकास कार्यक्रम, उन्नत नश्लका पाडाबाच्छी हुर्काउने कार्यक्रम, माछा भुरा वितरण, मत्स्य पोखरी निर्माणकालागि अनुदान वितरण गरिनेछ ।

यस्तै कार्यालयले नियमिम पशु पंक्षीको उपचार, खोप, पशु स्वास्थ्य शिविर, कृषकहरुलाई तालिम, स्थानीय पशु प्राविधिकहरुसँग समन्वयात्मक बैठक, मासु पसल तथा डेरी पसल सुधार, सहकार्यमा बजार पूर्वाधार विकास, डाले घास नर्सरी स्थापना, घाँस विकास कार्यक्रम, प्रजननका लागि भाले पशु वितरणलगायत कार्यक्रममा बजेट विनियोजन गरिएको पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति २३ आश्विन २०७७, शुक्रबार १५:३७