‘बुढापाका सँग टीका नलगाउँ, अनलाइन वा फोनबाटै आशिर्वाद लिउँ’

असोज २४, काठमाडौँ । सरकारले दसैंमा विशेष सचेतता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमण फैलँदो क्रममा रहेकाले बुढापाकालाई कोरोनाको जोखिम बढी हुने भएकाले पनि सचेत हुनुपर्ने बाउनु भएको हो ।

कोभिड– १९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा शुक्रबार प्रवक्ता गौतमले दसैंमा कोरोना भाइरसको संक्रमण फैलिने कुरातर्फ सचेत गराएका हुन् । उनले भने, मान्यजनसँग आशिर्वाद लिन जाने क्रममा यात्रा नगरौं र यसपटक टीका धेरै बुढापाकासँग गएर नलगाउँ । अनलाइन वा फोनबाट आशिर्वाद लिउँ ।

कोरोना संक्रमणको प्रभाव बढी उमेरका व्यक्ति हुनेतर्फ संकेत गर्दै प्रवक्ता गौतमले थपे, आशिर्वाद लिने क्रममा संक्रमण सारेर दुर्घटनाहरू त निम्त्याउने योजनामा छैनौं ? त्यसो नगरौं, समयमै सचेत बनौं ।

दसैंका लागि गरिने किनमेलका कारण पनि कोरोना भाइरसको संक्रमण फैलिने उनको भनाइ थियो । सकेसम्म भीडभाडमा नगएर कोरोना भाइरसको संक्रमणबाट बच्ने उनले आग्रह गरेका थिए । ुयसपाली दसैं संयमीत भई, भीडभाडमा सपिङ नगरी, भएकै लुगा(कपडा र सरसामानको उपयोग गरी मनाऔं । घरमा पूजाआजा गरी, घरमै बनाएका खानाहरू, घरकै सदस्य मिलेर खाउँ, उनले भने ।

कोरोना संक्रमितले समस्या परेमा मात्रै अस्पताल जानका लागि गौतमले आग्रह गरेका छन् । उनले लक्षण नभएका कोरोना संक्रमितलाई बाहिर हिड्डुल नगर्न पनि आग्रह गरे । उनले त्यसो गरेमा संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गरिने चेतावनी दिए ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको हो । जसमध्ये ६ सयजनाको मृत्यु भइसकेको छ भने ७३ हजार २३ जना कोरोना भाइरसमुक्त भएका छन् ।

प्रकाशित मिति २४ आश्विन २०७७, शनिबार ००:०१