नेपाली काँग्रेसको भुकदेउरालीमा श्रद्धाञ्जली सभा सम्पन्न

असोज २५, पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकदेउराली स्थित झिल्लीवराङ्गमा नेपाली काँग्रेसको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काँग्रेसका क्रियाशिल सदस्य रक्षा बहादुर गुरुङको १३ औँ दिनको पुण्य तिथिकामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै प्रतिनिधि सभा सदस्य लालकाजी गुरुङले रक्षा बहादुर जस्तो इमान्दार सक्रिय र सच्चा छवि भएका सिपाही समाजले गुमाउँदा सबैलाई बिर्सनै नसकिने चोट पुगेको बताउनुभयो । त्यस्तै सांसद गुरुङले रक्षा बहादुरको देहावशान भएपनि परिवारले उनको सोंच अनुसार सामाजिक कार्यमा लाग्न अनुरोध गर्दै आफु र आफ्नो पार्टीको तर्फबाट संधै साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस पर्वतका पुर्व पार्टी सभापति नवराज गुरुङले रक्षा बहादुरको निधनले स्थानीय गाउँ मात्रै नभएर सिंगो नेपाली कांग्रेसलाई अत्यन्तै ठुलो क्षति पुगेको बताउनुभयो । रक्षा बहादुर गुरुङ समाजको बिकास मात्रै नभएर समनता संस्कार र संस्कृतिको बिकासका लागि संधै लागिरहने ब्यक्तिको रुपमा संधै सम्झिरहने बताउनुभयो ।

गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले जन्म पछि मृत्यु अनिवार्य भएकाले बांचुन्जेल समाजमा केहि न केहि सम्झिने काम गर्नुपर्ने बताउनुभयो । रक्षा बहादुर गुरुङ सामाजिक बिकासमा लडिरहने ब्यक्तिका रुपमा सम्झिंदै श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस पर्वतका सचीव विश्व प्रकाश प्रसाईंले रक्षा बहादुर गाउँको सबै बिकासका लागि अनवरत लाग्ने सामाजिक ब्यक्तिका रुपमा स्मरण गर्दै उनको निधनले सबैको मन रोएको बताउनुभयो । सचीव प्रसाईंले श्रद्धाञ्जली व्यक्त गर्दै रक्षा बहादुर आफ्नो लागि मात्रै बाँच्ने ब्यक्ति नभएर गाउँसमाजको लागि सोच्ने ब्यक्ति भएकाले संधै स्मरण हुने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस पर्वतका महासमिति सदस्य मिना केसी, नेकपा कास्कीका सचिब बखान बहादुर गुरुङ, नेकपाका स्थानीय नेता डिलप्रसाद गुरुङ लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । परिवारको तर्फबाट बिक्रम गुरुङले धन्यवाद व्यक्त गर्नुभएको थियो ।

नेपाली कांग्रेस भुक देउरालीका सभापति जगन बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा स्वागत भुक देउरालीका कार्यबाहक अध्यक्ष भुल बहादुर पौडेल र संचालन प्रेस युनियन पर्वतका आगामी अध्यक्ष उत्तम प्रसाद अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ००:४६