फलेवास रुग्दीबासीले राष्ट्रियसभाका अध्यक्ष र प्रदेश मन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र

असोज २५, पर्वत । पर्वतको फलेवास नगरपालिका ४ रुग्दीका बासिन्दाहरुले सडकको विषयमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना र प्रदेश मन्त्री विकास लम्साललाई ध्यानाकर्षण गराएका छन् ।

जिल्लाको सदरमुकाम कुश्मा बजार देखि दोबिल्ला – फलेवास मोटर बाटोको करिब बिचमा पर्ने रुग्दी तातोपानी शंकरपोखरी चुचानदेउराली, राम मा.बि. हुदै भंगारा पुग्ने कच्ची मोटरबाटो रुग्दी तातोपानी तर्फबाट करिब ८ कि.मि. कालोपत्रे गरि पाउँ भनी त्यस क्षेत्रका नागरिकले तिमिल्सीनालाई ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र गण्डकी प्रदेशका उद्योग पर्यटन बन तथा बाताबरण मन्त्री लम्साललाई स्थानीयले छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाएका छन ।

शनिवार रुग्दी गाउँमा पुगेका बेला स्थानीयले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा रुग्दी तातोपानी शंकरपोखरी चुचानदेउराली, राम मा।बि। हुदै भंगारा पुग्ने कच्ची मोटरबाटो हिउँदमा मात्र चालु रहने र बर्षे समयमा अबरुद्ध हुने हुँदा समस्या भएको भन्दै सडकको स्तरउन्नती गर्न अनुरोध गरिएको छ ।

साथै कुश्मा देखि रुग्दी हुदै भँगारा सम्मका र फलेवास नगरपालिका अन्तरगत वडा नम्बर १,२,३,४ र ९ का जनता लाभान्वित हुने र सेवामूलक तथा आर्थिक समृद्धिमा बिशेष योगदान पुर्याउने भएकोले उक्त बाटो कालोपत्रे गरिनु अति आवश्यक भएको कुरा उल्लेख छ । यस कार्यलाई चासोपुर्बक लिइने तिमिल्सिना र लम्सालले बताउनुभयो ।

स्थानीयले फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मा,उपमेयर मन्जु अधिकारी लगायत अन्य जनप्रतिनिधिहरु र सरकारी सेवामा कार्यरत कर्मचारीहरुलाई मोटरबाटोको समस्याबारे माथिल्लो तह सम्म गुनासो पुराउन अनुरोध गरेका छन् ।

प्रकाशित मिति २५ आश्विन २०७७, आईतवार ०२:४६