डा. भट्टराईलाई कांग्रेसको चुनौती : ९ अर्ब ‘खाएको’ प्रमाण छ भने देखाऊ

असोज २६, काठमाडौँ । बूढीगण्डकी जलविद्युत् परियोजनाका नाममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्ना सभापति शेरबहादुर देउवाले ९ अर्ब बाँडेर खाएको भनेर आरोप लगाउने संघीय समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईलाई प्रमाण देखाउन नेपाली कांग्रेसले चुनौती दिएको छ।

पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बूढीगण्डकी परियोजनामा ती तीन नेताले ९ अर्ब भ्रष्टाचार गरेको प्रमाण आफूसँग भएको दाबी गरेका थिए।

सोही विषयमा आइतबार विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले डा। भट्टराईलाई त्यो प्रमाण देखाउन चुनौती दिएको हो।

डा। भट्टराईको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले त्यसको गहिरो अनुसन्धान गर्न सञ्चारमाध्यम र अख्तियारलाई अपिलसमेत गरेको छ।

‘बूढीढगण्डकी जलविद्युत् परियोजना कमिसनका कारण अलपत्र पारिएको र त्यसमा नेपाली कांग्रेसका सभापति समेतको संलग्नता रहेको भनेर पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले दिएको अभिव्यक्तिलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको प्रधानमन्त्रीजस्तो उच्च दायित्व सम्हालिसकेको नेताले ‘मसँग प्रमाण छ’ भनिसकेको स्थितिमा त्यसलाई सार्वजनिक गर्न विनम्रतापूर्वक चुनौती दिनु हाम्रो कर्तव्य हुन जान्छ।’ साभार–नागरिक दैनिकवाट

प्रकाशित मिति २६ आश्विन २०७७, सोमबार ०२:०२