जिल्ला अस्पताल पर्वतमा बेथिती – पोषणको बजेट बर्सेनि फिर्ता

पर्वत–बालबालिकाको पोषण सुधारका लागि सञ्चालित पोषणगृहका लागि आउने बजेट बर्सेनि फ्रिज भएर जाने गरेको छ । जिल्ला अस्पतालमा सञ्चालित पोषण सुधारगृह व्यवस्थित रूपमा सञ्चालन नहुँदा बजेट फिर्ता हुने गरेको हो ।
पर्वत र आसपासका जिल्लाका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन २०६७ वैशाखमा स्थापना भएको पोषण पुनस्स्थापना गृहमा यो वर्ष २२ लाख ५० हजार रुपैयाँ बजेट अख्तियारी आएको छ । गत वर्ष २० लाख बजेट आएकोमा ९ लाख रुपैयाँ फिर्ता भएको थियो ।
पोषणगृहमा कार्यरत कर्मचारीका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार तौल र स्वस्थ बच्चा नभए पोषणगृहमा ल्याउन सिफारिस गरिन्छ । पोषणगृहमा बच्चा ल्याइसकेपछि कम्तीमा दुई हप्तादेखि दुई महिनासम्म राख्नुपर्छ । तर, यहाँ आउने अभिभावक भोलिपल्टै पनि फिर्ता हुने गरेका छन् ।
पोषण पुनस्स्थापना गृहमा भर्ना भएका बालबालिका १४ दिनभन्दा थोरै समय बसेर फिर्ता भए त्यो संख्या तथ्यांकमा गणना हुँदैन । तर, बालबालिकाको संख्या र प्रगति धेरै देखाउन कर्मचारीहरूले एक दिन मात्रै भर्ना भएका बालबालिकाको समेत तथ्यांक राख्ने गरेको पाइएको छ ।
चालु आर्थिक वर्षमा हालसम्म २३ बालबालिकाले सेवा लिएको उनले दाबी गरे । विगतमा भन्दा यो वर्ष पोषणगृह सञ्चालन खर्चमा समेत वृद्धि भएका कारण सबै स्थानीय तहस्तरमा प्रचार अभियान सञ्चालन गरेर कुपोषित बालबालिकाको गृहमा आउने संख्या बढाइने उनले बताए । यहाँको पोषणगृहमा एक पटकमा ५ जना बच्चा र तिनका अभिभावक बस्न मिल्ने व्यवस्था छ । यस्ता पोषणगृह पर्वतसहित देशका ६ जिल्लामा मात्रै सञ्चालित छन् । आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रकाशित मिति १८ पुष २०७५, बुधबार १३:३५