प्रदेश १ मा बढ्दै लक्षणसहितका संक्रमित, थपिएनन् आईसीयू

असोज २७,मोरङ । प्रदेश १ मा दिनहुँजसो लक्षणसहितका कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको अभाव हुन थालेको छ । यिनै कारणले कोरोनाबाट हुने मृत्युदरसमेत बढ्दै गएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै मृत्यु भयो । यस्तै सुनसरीकै बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको सोमबार बिहान विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसन र धरान–१५ का ७० वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा आइतबार राति ज्यान गयो ।

प्रदेशमा आइतबार ६, शनिबार ३ र शुक्रबार ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल मृतकसंख्या १ सय ५ पुगेको छ । जसमा सात जनाको होम आइसोलेसन र दुई जनाको अस्पताल पुर्‍याउने क्रममा एम्बुलेन्समा मृत्यु भएको छ । यहाँ आइतबार ४ सय ९, शनिबार ५ सय ५२ र शुक्रबार ४ सय ८५ जना संक्रमित थपिएका छन् ।

यस प्रदेशमा ३३ ठाउँमा गरी १ हजार ५ सय ३१ शय्याका आइसोलेसन वार्ड छन् । तर आइतबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ८६ छ । जसमध्ये ५ सय ४८ जना संस्थागत आइसोलेसनमा र बाँकी संक्रमित होम आइसोलेसनमा बसेका हुन् ।

कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ८ वटा आईसीयू र ५ वटा भेन्टिलेटर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ वटा आईसीयू र १० वटा भेन्टिलेटर, झापाको मेची अस्पतालमा पाँचवटा आईसीयू र दुईवटा भेन्टिलेटर छन् । यस्तै, निजीतर्फ विराटनगरस्थित नोबेल अस्पतालमा चारवटा आईसीयू र दुईवटा भेन्टिलेटर, विराट मेडिकलमा १८ वटा आईसीयू र सातवटा भेन्टिलेटर तथा न्युरोमा ८ वटा आईसीयू र ५ वटा भेन्टिलेटर छन् । प्रदेशमा कुल ४८ वटा आईसीयू र ३२ वटा भेन्टिलेटरको व्यवस्था छ ।

प्रदेश सरकारले जेठमै २ हजार शय्याको आइसोलेसन वार्ड बनाउने घोषणा गरेकोमा अहिलेसम्म सुरसारै देखिँदैन । आईसीयू र भेन्टिलेटर थप्नेतर्फ तत्परता छैन । कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई दुई सय शय्यामा विस्तार गर्ने प्रदेश सरकारको घोषणा पनि हालसम्म पूरा भएको छैन ।

प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०१:००