वाइडबडी खरिदमा यसरी भयो भ्रष्टाचार-यस्ता छन् आधारहरू

काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायुसेवा निगमका लागि वाइडबडीको दुई वटा विमान खरिद गर्दा ४ अर्ब ३५ करोड भन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । उक्त प्रक्रियामा संलग्न तीन मन्त्री, तीन सचिव र निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारबाही गर्न सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशनसमेत दिएको छ । उपसमितिले भ्रष्टाचारको निष्कर्ष निकाल्दा लिएका आधारहरू यिनै हुन् स्

सीधै कम्पनीसँग नकिनेकोस् एयर बसको विमान नै किन्ने भए पछि सीधै निर्माता कम्पनीसँग निगमको विनियमावली २३६ ९१० अनुसार खरिद नगरी अर्कै कम्पनीसँग किन्नु खरिद प्रक्रिया नै बदनियतपूर्ण र कानुनसम्मत नरहेको तथा अख्तियारको दुरुपयोग भएको।

एक हजार घण्टाको सर्त राखेको – निगमलाई नयाँ वा सो सरहकै विमान आवश्यक भएकोले १००० घण्टासम्म मात्र उडेका विमान र सन् २०१४ पछि निर्मित विमान किन्ने सर्त राखेको। सामान्यतया १००० उडान घण्टा ३ महिना भन्दा कम अवधिमै पुरा गर्न सक्ने भएकोले यो सर्त राख्नुको कारण खरिद प्रक्रियामा विचौलिया प्रयोग गरी निर्माता कन्पनीबाट निगमलाई प्राप्त हुने छुटलगायतका रकम दुरुपयोग गर्ने मनसायले रहेको।

भारबहन क्षमता घटाएको – विमानको भारवहन क्षमता सुरुमा २४२ टन भनिए पनि पछि २३० मा घटाइएको। यसअघि नै बिक्रेताले दिएको एएसएन नम्बर अनुसारको जहाजको भार बहन क्षमता पनि २४२ टन नै रहेको। पछि आउने जहाजको क्षमता भने घटाइएकोले प्रति जहाजको १२ टनका दरले २४ टन क्षमता घटाउँदा ९४ करोड हानी नोक्सानी गराएको।

विशेष उद्देश्यको कम्पनी र स्क्रु एजेन्ट – खरिद प्रक्रियाको बिचमा आएर विशेष उद्देश्यको कम्पनीको रूपमा हाइफ्लाइ एक्स आएरल्याण्ड लिमिटेड खडा गरेको। रकम सिधै एयर बसलाई पठाउने व्यवस्था खरिद सम्झौतामा गरेको भए पनि अर्को स्क्रु एजेन्टको नाटक गरेर अर्कै कम्पनीलाई पठाई कारोबार अपारदर्शी बनाएर भ्रष्टाचार गरेको।

सार्वजनिक खरिद ऐनको अवज्ञा – महालेखा परीक्षकको ५५ औँ प्रतिवेदनले कानुन सम्मत नदेखिएको औँल्याएको, सार्वजनिक खरिद अनुगमन कार्यालयले गम्भीर त्रुटि औँल्याएको, सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अवलम्बन नगरेको, बजार मूल्यभन्दा धेरै मूल्य निर्धारण गरेको, पुरानो विमान खरिद गर्न तोकेर खरिद गर्ने प्रक्रिया ऐन विपरीत रहेको, बोलपत्र मूल्याङ्कन तथा प्रस्ताव छनौट कानुन अनुसार नभएको, ऋण तथा जमानत ऐन विपरीत पुरानो विमान खरिद प्रक्रिया अपनाएको।

मूल्यमा अनियमितता स् सन् २०१६ को विमान मूल्यमा निगम व्यवस्थापनले २।७६९९५ प्रतिशतका दरले मूल्यवृद्धि जोड्ने सुझावलाई बेवास्ता गर्दै एएआर इन्कले प्रस्ताव गरेको मूल्यलाई नै अन्तिम मानेको र पुरानो विमान खरिदमा ह्रास कट्टी गर्नु पर्ने तथा नयाँ खरिद गर्दा सोही वर्षको मूल्य लिएर त्यसमा छुट लिनु पर्नेमा उल्टै मूल्य बढाएको।

निरीक्षणको नाममा खर्च स् विमान निर्माणको पूर्व निरीक्षणको नाममा ३८ जनाले फ्रान्सको भ्रमण गरेको र त्यसमा केही प्राविधिक बाहेक अन्य असम्बन्धित रहेको र एक करोड रुपैयाँ खर्च गरेको। कान्तिपुर दैनिकवाट साभार

प्रकाशित मिति १८ पुष २०७५, बुधबार १३:४४