बिहादी गाउँपालिकाले खरको छानो विस्थापित गर्दै

असोज २८, पर्वत । पर्वतको बिहादी गाउँपालिकाले फुस र खरको छाना विस्थापित गरि सबैको घरमा टिनको छाना बनाईदिने भएको छ । खर र फुसको छाना विस्थापित गर्ने प्रस्ताव गाउँसभाले पारित गरि सबै वडामा खर र फुसको छाना भएका घरका विवरण संकलन भैरहेको छ ।

चालु वर्ष दुई सय घरको छाना फेर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । संघीय सरकारको कार्यविधि अनुसार गाउँसभाबाट प्रस्ताव पास गरिएको भुसालले बताउनुभयो । प्रत्येक वडामा विवरण संकलन गरेर एक हप्ता भित्रमा विवरण पठाउन भनिएको उहाँले बताउनुभयो । एउटा घर बराबर ५० हजार रुपैयाँ खर्च गर्न सकिने अनुमान गरिएको छ ।

विवरण संकलन गरेर संघीय सरकारलाई पठाएपछि सरकारको कार्यविधि अनुसार छाना हाल्ने काम हुन्छ । तीन वर्ष भित्र सबैको घरमा छाना फेरिने गरि काम अगाडी बढेको गाउँपालिकाका अध्यक्ष भुसालले बताउनुभयो । खर र फुसको छानामा आगालागी हुने, वर्खामा पानी चुहिने समस्या हुने भएकाले सरकारले मजवुत छानो हाल्ने कार्यक्रमलाई बजेटमै समाबेश गरेको थियो ।

बजेटमा उल्लेख भएको विषयलाई कार्यान्वयन गर्दै बिहादीमा खरको छानो हटाउने कार्यक्रम कार्यान्वयन गर्न थालिएको हो ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार ००:३७