कांग्रेसलाई जोगाउने कसले ?

एकाबिहानै फेसबुकमा एउटा लामो कथा पढ्ने अवसर मिल्यो। कथा लेकमा भेडा चराउन जाँदाको प्रसंगका बारेमा थियो। कथाको सारांश यसप्रकार थियो –
गर्मी महिनामा पहाडका भेडालाई लेकतिर चराउन जाने प्रचलनअनुरूप एक गोठालो आफ्ना डेढ सय भेडा लिएर लेकतिर उक्लन्छ। जाने क्रममा बीच बाटोमा हिमवर्षा हुन थाल्छ। भेडाहरूको संरक्षण कसरी गर्ने भनेर यताउति सुरक्षित स्थान खोजी गर्ने क्रममा एउटा गुफा फेला पर्छ। त्यही गुफामा भेडा छिराउँछु भनेर लैजाँदा त गुफाभित्र पहिलेदेखि नै वासा बसेका अन्य भेडा देख्छ।

गुफाभित्र पहिलेदेखि नै रहेका भेडालाई उसले नियाल्छ। आफ्ना भेडा दुब्ला पातला, गुफाभित्रका भेडा मोटाघाटा देख्छ। रातिको बेलामा यी भेडा कसले ल्यायो होला भनेर खोजबिन गर्दा भेडा बेवारिसे भएको पाउँछ र उसमा लोभ पलाउँछ। ती भेडालाई बाहिर ननिकाले उसका भेडा गुफाभित्र अटाउने परिस्थिति पनि छैन। एकछिन सोचविचार गरेर आफ्ना दुब्ला भेडा बाहिरै छाड्दिन्छु, भोलि बिहान यिनै मोटा भेडा लिएर जान्छु भन्ने मनस्थिति गोठालाले बनाउँछ।

भेडालाई ख्वाउन भनेर दिनभरि बटुलेको घाँसपात पनि तिनै फेला परेकालाई ख्वाउँछ। उसका दिनभरि हिँडेर आएका भेडा राति खान नपाएपछि र हिमपातमा ओत पनि नपाएपछि आधाआधि त्यही रात मर्छन्। भोलिपल्ट बिहान ती मोटा भेडा लिएर जाने प्रयास गोठालाले गर्छ तर भेडा मान्दैनन्। भेडाहरूले गोठालालाई भन्छन्– तिम्रो के विश्वास छ र तिमीसँग जाने ? वर्षौँदेखि आफैले पालेका भेडालाई त हामीलाई देखेपछि भोकभोकै मार्‍यौ, हामीलाई पनि त अरू राम्रा देख्यौ भने त्यसै छाड्छौ। तिमी जस्ताको हामीलाई विश्वास लाग्दैन। गोठालो आफ्नो बुद्धिलाई धिक्कार्दै तिनै बँचेखुचेका आधाआधी भेडा लिएर लेकतिर उक्ल्यो।

यो कथा नेपाली कांग्रेसको अहिलेका अवस्थासँग ठ्याक्कै मिल्दोजुल्दो छ। कांग्रेसमा दशकौंदेखि रगत पसिना बगाएका पुराना नेता तथा कार्यकर्ता कांग्रेसलाई सबल, सक्षम, लोकप्रिय, सुदृढ र लोकतान्त्रिक कसरी बनाउने भनेर चिन्तित बनिरहेका छन्। बिहान उठेदेखि बेलुकी सुत्ने बेलासम्म कांग्रेसका चारतारे झण्डा र चुनाव चिह्न रुखका बारेमा चिन्तन, मनन र बहस गरेर दिन बिताउने लाखौं समर्थक अझै गाउँगाउँमा देखिन्छन्। कांग्रेसका नेतृत्व तथा नेताको भरोसा भने अन्यत्रै बढ्दै गएको देख्न पाइन्छ।
कांग्रेसको वडातहको नेतृत्वमा बीसौं वर्ष क्रियाशील व्यक्ति गाउँ वा नगरतहमा उक्लिन लालायित छन्। गाउँ तहकाको जिल्ला तहमा प्रवेश गर्ने सम्भावना वर्षौंदेखि पूरा हुन सकेको र्छन। जिल्ला तहबाट केन्द्रमा पुगी राष्ट्रिय तहको राजनीति गर्न योग्य तर सम्भव हुन नसकेका नेता त हजारौं छन् कांग्रेसमा। गाउँगाउँमा जनतासँग भिजेका, कांग्रेसको आत्मा चिनेका, मेचीको कांग्रेसीलाई पीडा पर्दा महाकालीका कांग्रेसीको चित्त दुख्नेहरू कति छन् कति तर यिनीहरू पाखा
परेकापर्‍यै छन्।

पछिल्ला केही समयमा कांग्रेसमा के देखिँदैछ भने अर्को पार्टीबाट प्रवेश गर्‍यो अनि सोझै कांग्रेसको पदाधिकारी बन्यो। अर्को पार्टीको केन्द्रीय समितिमा रहेकाले कांग्रेसको केन्द्र माग्नु त ठीकै मानिएला तर सामान्य पार्टीको जिल्ला तहको सदस्यलाई पनि कांग्रेसको केन्द्रमा स्थान दिने परिपाटी बस्न थालेको छ। यसबाट कांग्रेसका इमान्दार एवं पुराना सदस्यको तेजोबधसिवाय केही हुने छाँटकाँट देखिएको छैन। नजिकिएको चौधौं महाधिवेशनमा अमुक नेतालाई तिनको सहयोग त मिल्ला तर कांग्रेसका संगठनात्मक सुदृढीकरणमा तात्विक असर पर्ने कुनै लक्षण देखिँदैन।
भन्ने गरिएको छ, फलानो व्यक्ति २५ हजार क्रियाशील सदस्यसहित कांग्रेसमा प्रवेश गरेकाले उसलाई कांग्रेसका ठूलै पदाधिकारी बनाउनुपर्छ। अर्को व्यक्ति ५ हजार सदस्यसहित प्रवेश गरेकाले उसलाई अलि सानो पदाधिकारी पदले स्वागत गर्नुपर्छ। यो व्यक्ति त ११ सय सदस्यसहित आएको छ, ऊ विगतको पार्टीमा जिल्ला सदस्य भए पनि कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य बनाउनुपर्छ।

सोच्नुपर्ने कुरा के छ भने कोही कसैसँग २५ हजार क्रियाशील सदस्य छ भने ऊ किन अर्को पार्टी प्रवेशका निमित्त लालायित हुन्छ ? ऊ त नेपालको तेस्रो चौथो ठूलो पार्टीको आफैं सभापति हुन सक्छ। २५ हजार क्रियाशील सदस्य भएको पार्टीको साधारण सदस्य कति होलान् ? ती क्रियाशील सदस्य र साधारण सदस्यले आकर्षित गरेका मतदाता कति होलान् ? त्यस्तो नेताले अर्को पार्टी किन प्रवेश गर्ने ? यतातर्फ कुनै विश्लेषण गरिँदैन। गाउँ तहको साधारण कार्यकर्ताले पार्टी परिवर्तन गर्नुमा उसको कुनै स्वार्थ हुँदैन बरु स्वार्थ हुन्छ त यो पार्टीले देश र जनताको भलो गर्ला भन्ने मात्र। माथिल्ला तहकाले गरेको परिवर्तनमा भने भित्र निकै ठूलो स्वार्थ लुकेको हुन्छ भन्ने 
बुझ्न सक्नुपर्छ।

निश्चय नै पार्टीको संगठन ठूलो बनाउन कार्यकर्ता वृद्धि गर्नैपर्छ। चलायमान नेताहरूको पार्टी प्रवेशले संगठन बृहद् देखिने भनेको सुन्निएर मोटाए जस्तो मात्रै हो भन्ने कांग्रेसीले नबुझेको छनक मिल्छ। कांग्रेसको सिद्धान्त, आदर्श, विचार र व्यवहारलाई बुझाएर १८ वर्षदेखि २५ वर्षसम्मका युवालाई चारतारे झण्डा र रुख मनैदेखि बोक्न लगाउन सकियो भने मात्रै त्यो वास्तविक रूपमा संगठन सुदृढ भएको मानिन्छ।

नेतृत्वले भरोसा गुमाउँदै जाँदा पनि कांग्रेसलाई दोस्रो ठूलो दलभन्दा तल झर्न नदिने तिनै हुन् भनेर कांग्रेसले चिन्न सक्नुपर्ने हो तर सकेको छैन। डेरा सर्दै हिँड्नेमा विश्वास बढ्दै जानु खतरनाक देखिन्छ

वि.सं. २०४८ पछिका प्रयोगको अध्ययन गर्ने हो भने पनि पार्टी प्रवेशले बनेको संगठन कस्तो हुन्छ प्रष्टै देखिन्छ। २०४८ सालदेखि २०५१ सालसम्म कांग्रेसका नेताहरूको व्यापक जिल्ला दौडाहा भएको थियो। कुनै न कुनै ठाउँमा कम्तीमा एक हजारजना कांग्रेस प्रवेश नगराएको दिन नै हुन्थेन। कतिपय पार्टीका ठूलै नेता आए, कतिपयका कार्यकर्ता मात्र तर पूरै देश कांग्रेसमय बनेको थियो। अहिले ती मान्छे कता छन्, के गर्दैछन्, के कांग्रेसमै छन् या अरू नै पार्टीमा गइसके ? अत्तोपत्तो छैन होला।

बच्चैदेखिको कांग्रेसीको रगतमा कांग्रेस नै हुन्छ। उसले मुखले कांग्रेसलाई सराप्यो भने पनि मनले शुभकामना दिइरहेको हुन्छ। रगतमा अरू चिज नै बगेको छ र स्वार्थका लागि कांग्रेसमा आएको छ भने उसले मुखले कांग्रेसको जयजयकार गरे पनि अन्तर्आत्माले अन्यत्रैको कामना गरिरहेको हुन्छ। काग र कोइलीका बच्चा एकै ठाउँमा राख्दा उस्तै देखिन्छन् तर जब उनीहरू बोल्न थाल्छन्, त्यतिबेला बेग्लै भइहाल्छन्। मनैदेखिको कांग्रेसीले ३६४ दिन गाली गरे पनि चुनावको दिन कांग्रेसलाई भोट हाल्छ र कतिपयले ३६४ दिन प्रशंसा गरे पनि चुनावमा अर्कै दल रोज्छन् भन्ने कांग्रेसको नेतृत्वलाई जानकारी हुनैपर्ने हो।

कांग्रेसले महाधिवेशनका बेला आफ्नो गुटलाई जिताउन जस्ता पनि कार्यकर्ता खोज्न थाल्यो, त्यसैको दुर्भाग्य अहिले बेहोर्दैछ। कस्तो मान्छे हो, चरित्र कस्तो छ, लोकतन्त्रवादी बन्न सक्छ कि सक्दैन कुनै कुराको हेक्का राखेको पाइँदैन। गुटगत लडाइँमा उसले के गर्छ भन्ने आधारमा क्रियाशील बाँड्ने गरिएको पाइएको छ र अहिले त्यसले पराकाष्ठा नाघ्न थालेको अनुभूति गर्न थालिएको छ। त्यस्ता क्रियाशील सदस्य वर्षैभरि कांग्रेस हुने अनि चुनावको दिनमा अर्कै पार्टीलाई मत दिने गर्छन् भन्ने चर्चा सर्वत्र सुन्न पाइन्छ।

विधानको पूर्ण परिपालनाबाट नै कांग्रेस सुदृढ हुन सक्छ। नवप्रवेशीले त आफ्ना कार्यकर्ता भनी कांग्रेसकै विभिन्न तहका नेताको नामावली कांग्रेस कार्यालयमा बुझाएको त समाचार आइसकेको छ। यस्तै फर्जी कार्य गर्नेले क्रियाशील सदस्यताको फारम एकमुष्ट पाउने, जिल्ला सभापतिले नपाउने, जिल्ला सभापतिले पनि तिनैसँग एउटा फारम मागी नवीकरण गर्नुपर्ने जस्ता परिस्थितिको सिर्जना गरियो भने भोलिको कांग्रेस कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ। यस्ता क्रियाकलापको अन्त्य गर्दै वैचारिक नेतृत्वको खोजी गरी पुराना एवं इमान्दार कार्यकर्ताको मूल्यांकनसहितको समावेशी पार्टी कांग्रेस बनाउनतर्फ लाग्ने हो भने कांग्रेसको सुदिन फर्कन कुनै आइतबार कुर्न पनि पर्दैन।

कांग्रेस कांग्रेसीले नै जोगाउँछ। आजसम्म एउटाको घरमा भाडामा बसेको डेरावाल यदि बसेको घर चर्कियो भने त्यो घर कुरेर बस्दैन। भाडामा अर्को सबल घर तुरुन्तै खोज्छ। कुनै पद नपाउँदा पनि कांग्रेसमै रहेको र कांग्रेसी हुनुमै गर्व गर्ने व्यक्ति जति छन्, तिनले नै कांग्रेस जोगाउने हो। इमान्दारीका साथ पुस्तौंदेखि कांग्रेसमै क्रियाशील रहेका वंशहरूले नै कांग्रेसलाई सुदृढ बनाउने हो। माओवादीले छ्याप्छ्याप्ती टाउको काट्दा पनि गाउँमा कांग्रेसी नै भएर जो बसे तिनले नै कांग्रेसलाई आगामी निर्वाचनमा जिताउने हो। नेतृत्वले भरोसा गुमाउँदै जाँदा पनि कांग्रेसलाई दोस्रो ठूलो दलभन्दा तल झर्न नदिने तिनै हुन् भनेर कांग्रेसले चिन्न सक्नुपर्ने हो तर सकेको छैन। डेरा सर्दै हिँड्नेमा विश्वास बढ्दै जानु खतरनाक देखिन्छ। अन्यथा भीरमा जाने ….।

शान्तिकृष्ण अधिकारीले अन्नपुर्ण पोष्टमा लेखेको लेख हामीले साभार गरेका हौँ ।

प्रकाशित मिति २८ आश्विन २०७७, बुधबार १०:००