कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दसैँअघि नबस्ने

असोज २९, काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दसैँअघि नबस्ने भएको छ । यसअघि दुईपटक मिति तय भएर स्थगित भएको बैठक दसैँअघि नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कोरोनाको संक्रमण बढेको र भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैँअघि बैठक नबस्ने उनले बताए ।

सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिनपछि सबैको पिसिआर परीक्षण गरी बैठक सञ्चालन गर्ने विषयमा पदाधिकारीबीच छलफल चलिरहेको उनले बताए । दसैँ र तिहारको बीचमा बैठक बस्न नसके तिहारपछि बस्ने शर्माको भनाइ छ ।

विशेषगरी, महाधिवेशनको सन्दर्भमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले लिखित रूपमा पेस गरेको असन्तुष्टिका विषयमा पनि बैठकमा छलफल गर्ने एजेन्डा रहेको थियो । प्रवक्ता शर्माले ७ फागुनमा पार्टी महाधिवेशन सम्पन्न गर्ने गरी बाँकी कार्यतालिका हेरफेर गर्ने, फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि अब बस्ने बैठकमा छलफल हुने बताए ।

फागुनमा महाधिवेशन सम्पन्न नभए जेठमा गर्ने गरी तयारी गरिने उनले बताए । यसअघि पहिलोपटक १९ असोजमा बोलाइएको बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण देखिएपछि स्थगित भएको थियो । दोस्रोपटक २५ असोजमा बोलाइएको बैठक पार्टीका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।

प्रकाशित मिति २९ आश्विन २०७७, बिहीबार ०३:२०