दुर्लुङका पहिरो पीडितलाई प्रवासीको घर उपहार

कात्तिक ३, पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका पहिरो पीडितलाई प्रवासी पर्वतेलीहरुले घर बनाईदिने भएका छन् । जेठ ३१ गते बस्ती माथिवाट आएको पहिरोले २ घर पुर्दा ९ जनाको मृत्यु भएको थियो । पहिरोका कारण घरवार बिहिन भएका परिवारलाई अन्तराष्ट्रिय पर्वत समाजको समन्वयमा घर बनाईदिन लागिएको हो । घरवार विहिनहरुको समस्यामा मलम लगाउन समाजले सल्लाह गरेर घर बनाईदिने निर्णय गरे अनुसार रकम पठाउन थालेको छ ।

अन्तर्राष्ट्रिय पर्वत समाजको समन्वयमा पर्वत समाज बेल्जियम र पर्वत वेयलफेयर सोसाईटी यूकेको प्रमुख सहयोग र अन्य देशमा रहेका पर्वत समाजहरुको समेत सहयोगमा दुई वटा घर निर्माण गर्न लागिएको घर निर्माण समितिका संयोजक एवम् अन्तराष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार घरको पक्की संरचनामा कंक्रिटको तथा जस्ताको छानो भएको हुनेछ । कुश्मा नगरपालिका र वडा कार्यालय दुर्लुङको सहकार्यमा घर निर्माण कार्य अगाडी बढेको गुरुङले बताउनु भयो । ‘घर बनाउन किस्ता किस्तामा रकम उपलब्ध गराउने छौँ ,’ गुरुङले भन्नुभयो,’ पीडितलाई घर बनाउन पहिलो किस्ता मार्फत २ लाख रुपैयाँ हस्तान्तरण ग¥याँै संयोजक गुरुङले भन्नुभयो,‘बाँकी रकम किस्ता–किस्तामा पठाउने छौँ ।’ उहाँले घरवार विहिनलाई सहयोग गर्न पाउँदा आत्मासन्तुष्टि मिलेको बताउनुभयो ।

देशमा भएको विपत्तीले प्रवासीहरुको मनमुटु छोएकाले दुखमा साथ दिईएको प्रवासी नेपालीहरुले बताएका छन् । गत जेठको अन्तिम सातामा गएको पहिराले घर पुँरिदा विस्थापित परिवार आफन्तको घरमा बस्दै आएका थिए । पहिरोले विकास विक र ओमवहादुर थापाको घर बगाउनुका साथै विकको ३ र थापाको ६ जना परिवारको घटनास्थालमै मृत्यु भएको थियो ।पीडित परिवारले विभिन्न संघसंस्थाको सहयोगमा जग्गा खरिद गरेर घर बनाउन थालेका छन् । पहिरोका कारण घरबार विहिन भएका विकासले नयाँ घर बनाउन पाएकोमा खुशी व्यक्त गरेका छन् । परिवारको मृत्यु भएपछि आफन्तको घरमा बस्दै आएका विकासले भने,‘हाम्रो समस्या प्रवासी दाजुभाईले बुझ्नुभएछ, हामीलाई खुशी लागेको छ, अब पक्कि घरमा बस्न पाउनेछौँ ।’

पहिरो पीडितलाई प्रवासीले घर बनाईदिने भएपछि वडा अध्यक्ष तेजप्रसाद पाध्याले आभार व्यक्त गर्नुभएको छ । पहिरो गएको पाँच महिनासम्म पीडितलाई थुप्रै आर्थिक सहयोग प्राप्तभएपनि अन्तर्राष्ट्रिय पर्वत समाजको समन्वयमा पीडितको दिर्घकालिन वसोवासको व्यवस्था गरेकोमा खुशी व्यक्त गर्नुभयो । ‘बिदेशमा बस्ने दाजुभाईहरुले गरेको सहयोगले वास गुमेका परिवारलाई धेरै ठूलो राहात भएको छ पाध्याले भन्नुभयो,‘ निस्वार्थ रुपमा सहयोग गर्ने ति दाजुभाईलाई मुरीमुरी धन्यबाद दिएका छौँ ।’
पर्वत जिल्लामा जन्मिएर विभिन्न पेशा व्यवसायमा प्रवासमा रहेको पर्वतेलीहरुको साझा संस्था अन्तराष्ट्रिय पर्वत समाजले गत बर्ष जलजला गाउँपालिका–७ बरनेटा पहिरो पीडितलाई ३ वटा घर निर्माण गरि हस्तान्तरण गरेको थियो । समाजले पर्वत जिल्लाको स्वास्थ्य, शिक्षामा काम गदै आएको छ ।

प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार ०४:१९