मनैदेखि काङ्ग्रेस भएर अघि बढ्नुपर्छ : प्रवक्ता शर्मा

काठमाडौ। २१,पुस नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस मनैदेखि काङ्ग्रेसका लागि काङ्ग्रेस भएर अघि बढ्नुपर्ने औंल्याएका छन् ।

झापाको गौरादहमा काङ्ग्रेस नगर समितिले आयोजना गरेको ४२औँ राष्ट्रिय मेलमिलाप दिवस सप्ताहव्यापी कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पार्टी एकता र पार्टी विस्तारका लागि जुनसुकै र जस्तोसुकै भूमिका निर्वाह गर्न सबै कार्यकर्ता तयार रहनुपर्ने बताए ।

काङ्ग्रेसको महासमिति बैठकले पार्टी भित्रका गुटउपगुटको अन्त्य गरेको बताउँदै उनले भने, “अब काङ्ग्रेसमा कुनै पनि गुटको अस्तित्व छैन, पार्टीभित्र काङ्ग्रेस मात्र छ ।”

युवा नेता शर्माले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्ष भएर जनताका अधिकार र समृद्धिमा सक्रिय भूमिका निर्वाह गरी आएको र आगामी दिनमा पनि त्यस्तो भूमिकालाई अझ सबल बनाउने बताए ।

कार्यक्रममा काङ्ग्रेसका जिल्ला सदस्य बद्री कार्कीले राष्ट्रिय मेलमिलापको नीतिका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै राष्ट्रियता र स्वाधिनताको लागि पुनः सबै राष्ट्रिय शक्ति एक हुनुपर्ने आवश्यकता भएको उल्लेख गरे । साभार लोकपथ

प्रकाशित मिति २१ पुष २०७५, शनिबार ०२:४८