कांग्रेसमा विमलेन्द्रलाई गोपालमानको काउन्टर

कात्तिक ५, काठमाडौँ । फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुनेगरी तय गरिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन्। महाधिवेशनको नयाँ मिति तय गर्न बोलाइएको केन्द्रीय समिति बैठक पनि केन्द्रीय सदस्यहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि अनिश्चित बन्न पुगेको छ। तर नेतृत्वका लागि नेताहरूको दौड भने रोकिएको छैन। कांग्रेस नेता तथा कार्यकर्ताले १३औं महाधिवेशनमा जस्तै आगामी महाधिवेशनमा पनि वर्तमान सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरेका थिए तर पछिल्ला दिनमा भने स्थिति अलिक फेरिएको छ।

मध्य साउनसम्म संस्थापन समूहबाट देउवामात्र सभापतिको एकल उम्मेदवार देखिएका थिए। उनी निकट अन्य कुनै नेताले नेतृत्वका लागि दाबी प्रस्तुत गरेका थिएनन्। तर उपसभापति विमलेन्द्र निधिले साउन २९ गते देउवालाई भेटेर १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने मन बनाएको बताएसँगै संस्थापन समूहबाटै अर्का नेता गोपालमान श्रेष्ठले पनि दाबी प्रस्तुत गरेका छन्। निधिलाई उपसभापतिमा मनोनयन गरेपछि देउवासँग असन्तुष्ट देखिएका श्रेष्ठले नेतृत्व छाड्ने भए सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। देउवा र पौडेलपछि पार्टीमा आफू नै वरिष्ठ नेता भएको जिकिर गर्दै आएका श्रेष्ठले सभापति देउवालाई जुनसुकै अप्ठेरो समयमा साथ दिएको तर्क गर्दै अब आफूलाई सहयोग गर्नुपर्ने बताएका छन्।

कार्यवाहक सभापति, उपसभापतिसहितका जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले सभापति बन्ने आकांक्षा राख्नुलाई अस्वाभाविक मान्न नहुने देउवानिकट एक नेताले बताए। ‘अन्य आकांक्षीको जस्तो उहाँको दाबी पुग्दैन भन्ने होइन, म पनि पार्टीको नेतृत्व गर्नसक्छु भन्ने कुरा स्वाभाविक हो,’ ती नेताले भने, ‘दाबी गर्ने र उम्मेदवार नै बन्ने फरक कुरा हो।’

उपसभापति निधिले नेतृत्वका लागि आकांक्षा देखाउँदै सक्रियता बढाएपछि उनको काउन्टरमा श्रेष्ठको दाबी आएको समेत देउवानिकटका कतिपय नेताको बुझाइ छ। ‘गोपाल दाइको दाबीले विमलजीलाई अलि अप्ठेरो बनाउँछ,’ देउवानिकट एक नेताले भने, ‘गोपालमानले तिमीलाई मान्दैन अब मै सभापतिमा उठ्छु सहयोग गर भनेर शेरबहादुर दाइले उहाँ ९विमलेन्द्र निधि० लाई भन्ने बाटो भएको छ।’

निधिनिकटकाले पनि उनी १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने पूर्ण तयारीमा जुटेको दाबी गरेका छन्। फेरि एकपटक देउवालाई भेटेर आफ्नो प्रस्ताव दोहो¥याई प्रचारमा निस्कने तयारीमा निधि रहेको स्रोतको दाबी छ।

उता संस्थापन इतर समूहबाट पनि आधा दर्जन नेताले नेतृत्वका लागि आकांक्षा देखाउँदै आएका छन्। इतर समूहबाट नेता पौडेलका साथै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वको दाबी गर्दै आएका छन्। रामशरण महत र अर्जुननरसिंह केसीले पनि सहमति बन्न नसके सभापतिमै उम्मेदवारी दिने बताउँदै आएका छन्। १३औं महाधिवेशनमा सभापतिको प्रत्याशी बनेका कृष्णप्रसाद सिटौला र उनको समूहको आगामी महाधिवेशनमा कस्तो भूमिका हुन्छ, अझै निश्चित छैन।

नेतृत्वका लागि धेरै नेताले दाबी प्रस्तुत गरेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले भने, ‘अन्तिम समयमा धु्रवीकरण हुन्छ। सबैजना उम्मेदवार बन्नुहुन्छ जस्तो लाग्दैन।’ नेतृत्वको आकांक्षीमध्ये वर्तमान सभापति देउवा फेरि पनि उम्मेदवार बन्ने, कोइराला परिवारबाट शशांक र शेखरमध्ये एकजना उम्मेदवार बन्ने, तीबाहेक बढीमा दुईजनासम्म उम्मेदवार बन्नसक्ने एक नेताले दाबी गरे। ‘अहिले सबैले आआफ्नो भाउ बुझिरहेका छन्,’ उनले भने, ‘हारे पनि केन्द्रीय सदस्य भइहालिन्छ र अवस्था पनि ठीकै हुन्छ भन्ने लाग्यो भने पाँचजनासम्म सभापतिको उम्मेदवार देखिन सक्छन्।’

१३औं महाधिवेशनदेखि सभापतिमा उठ्ने र हारेपछि भाग खोज्ने नराम्रो परम्परा सुरु भएको जनाउँदै कांग्रेस नेता रामहरि खतिवडाले आगामी महाधिवेशनमा पनि त्यसले बढावा पाउने सम्भावना बढेको बताए। ‘सभापतिको उम्मेदवार बन्दा गुटगत भाग पनि पाइने भएपछि सबैको ध्यान त्यतै केन्द्रित भएको छ, त्यसको अन्त्य हुनुपर्छ,’ खतिवडाले भने, ‘यो प्रवृत्तिले पार्टी, देश र जनताको हित गर्दैन। इमानदार नेता तथा कार्यकर्ता पाखा पर्छन्, चाकडीबाज हाबी हुन्छन्।’साभार–नागरिक दैनिकवाट

प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार ०१:५९