कुश्मा चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्रीले चाडपर्व खर्च विपन्नलाई बाँडे

कात्तिक ६, पर्वत । कुश्मा नगरपालिका–८ चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्रीले नगरपालिकाले उपलब्ध गराएको चाडपर्व खर्च वडाका विपिन्न परिवारलाई वितरण गरेका छन् । कोभिड–१९ तथा चाडपर्वलाई लक्षित गरेर छाक टार्न मुस्किल भएको १३ घर परिवारलाई प्रतिव्यक्ति २ हजारका दरले रकम वितरण गरिएको हो । कुश्मा नगरपालिकाले वडा अध्यक्षलाई चाडपर्व शीर्षकमा २५ हजार रकम उपलब्ध गराएको थियो । उक्त रकम बिहिवार वडा कार्यालममा एक कार्यक्रमको आयोजना गरी पिडित परिवारलाई राहात स्वरुप रकम प्रदान गरिएको हो ।

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिबी र विपन्न समुदायका लागि दसैंमा हुने तडकभडकको कुरा त परै जाओस्, साँझबिहान छाक टार्नै समस्या छ । दशै तिहार जस्ता महान चाडपर्बको बेला एक जोर कपडा लाउन नसक्ने मिठो खानको लागि अरुको मुख ताक्नु पर्ने अबस्था नआओस भनेर आफुले वडाका गरिव तथा विपन्न परिवारलाई सहयोग गरेको क्षेत्रीले बताए ।

उनले भने ‘हाम्रो ठाउँमा कति परिवारहरु बिहान खाएर बेलुका के खाने हो भनेर बस्नु पर्ने अबस्था छ त्यस्ता केहि परिवारलाई हामीले सहयोग गरेका हौ विपन्नलाई सहयोग गर्दा मनै देखि खुसी मिल्दो रहेछ’ । आउँदा दिनमा त्यस्ता गरिव विपन्न घरपरिवारलाई अझै सहयोग गर्ने इच्छा ब्यक्त गर्दै दशैमा सहयोग पाएपछि दुःखीको ओठमा केहि भएपनी खुशी मिलेको आफुलाई अनुभूति भएको वडा अध्यक्ष क्षेत्रीले बताए । लामो समयको लकडाउनका कारण नागरिकहरु रोजगार बिहिन भएको अवस्थामा नगरपालिकावाट चाडपर्व खर्च बुझेर रमाईलो गर्नु भन्दा वडाका विपन्न वर्गलाई बाँड्नु उपयुक्त लागेर आफुले यो निर्णय लिएको उनको भनाई छ ।

वडा अध्यक्ष क्षेत्रीले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मनाउनका लागि नागरिकसँग आग्रह गरेका छन् । ‘भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ’, उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।’

प्रकाशित मिति ६ कार्तिक २०७७, बिहीबार १५:३६