बाल बिवाहविरुद्ध लुम्बिनी प्रदेश प्रहरीको अभियान

कात्तिक १४, तुलसीपुर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल बिवाह विरुद्धको १५ दिने अभियान सुरु गरेको छ । प्रदेश प्रहरीले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कार्तिक १४ गते देखि १८ गतेसम्म अभियान संचालन गर्ने जनाएको छ ।

१५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिए । बाल विवाहकै कारण शारिरीक तथा मानसीक समस्या, घरेलु हिंसामा वृद्धि, सामाजिक, आर्थिक र पारिवारीक समस्या संगै अपराधिक कृयाकलाप समेत सृजना हुने भएकाले यसको न्युनिकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताए ।

प्रहरीले अभियानलाई सफल बनाउन प्रहरी कर्यालय अगाडि, बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माईकिङ गर्ने, विभिन्न संचार माध्यामबाट अभियानको जानकारी गराउने लगाउतका कार्यक्रम तयार गरेको छ ।

२० बर्ष नपुग्दै गरिने विवाहलाई नेपालको संविधानले बाल विवाह भन्ने गरेको छ । उमेर नपुगि विहे गरेमा दण्ड सजाय हुने कानुनी व्यवस्था छ । पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशका १२ जिल्लामा तुलनात्मक रुपमा ३ बर्षको अवधिमा भएका बाल विवाहको विषयमा समेत जानकारी गराईएको थियो ।

प्रकाशित मिति १४ कार्तिक २०७७, शुक्रबार ०१:२६