महिला उद्यमी संघ नेपाल कास्कीको साधारण सभा – महिलाहरु उद्यमी बन्नुपर्नेमा जोड

पर्वत– महिला उद्यमी संघ नेपाल कास्की पोखराको पाँचौ साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद मीना गुरुङले महिलाहरू उद्यमशील बन्नुपर्नेमा जोड दिनुभयो । देशमा लामो समयसम्म राजनीतिक अस्थिरता र अन्यौलको वातावरण भएकोले उद्योग व्यवसाय क्षेत्र धरासायी भएको प्रष्ट पार्नुहुदै अब देशमा राजनैतिक स्थिरता आएको र विभिन्न ऐन, कानूनहरूको निर्माण भइ अनुकुल वातावरण बन्दै गएकाले उद्यमी व्यवसायीले आ–आफ्ना स्थानबाट सीप, क्षमता एवं दक्षताको उपयोग गरी समृद्ध नेपाल र सुखी नेपाली सरकारको उद्देश्यलाई सफल पार्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले महिला उद्यमी महासंघ अन्तर्गत कार्यप्रगति मूल्याङ्कनका आधारमा देशभरिका जिल्लाहरूमध्ये कास्की जिल्ला दोस्रो स्थान प्राप्त गर्दै पुरस्कृत भएकोमा खुशी व्यक्त गर्दै बधाई दिनुभयो ।
सो अवसरमा सांसद् गुरुङले प्रत्येक वर्ष कास्की जिल्लाका एक जना सफल महिला उद्यमीलाई महिला उद्यमी संघ नेपाल कास्कीमार्फत् महिला उद्यमी अवार्ड दिने घोषणा पनि गर्नुभयो । सांसद् भए बापत पाउने तलबभत्ता र सरकारी सुविधा सामाजिक कार्यमा लगाउने घोषणा गरेकी सांसद् गुरुङले सोही रकमबाट सो अवार्ड दिने घोषणा गर्नुभएको हो । त्यस्तै, उहाँले महिला उद्यमी संघ नेपाल, कास्कीको पोखरा महानगरपालिका अन्तर्गतका ३३ वटै वडामा संगठन विस्तारका लागि समेत सहयोग गर्ने घोषणा गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघकी उपमहासचिव चिनु गुरुङले महिलाहरू उद्यमशीलताको विकाससँगै नेतृत्व लिनका लागि समेत तयार हुनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघले महिला उद्यमशीलता विकासका लागि जोड दिएको बताउँदै उपमहासचिव गुरुङले महिला उद्यमी संघ नेपाल, कास्कीलाई आफ्नो तर्फबाट सधैं सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष काशी गुरुङले महिला उद्यमशीलता विकासले समग्र राष्ट्रको विकासको गति बढाउन सकिने बताउनु भयो । उहाँले महिला उद्यमी संघ नेपाल कास्की एक सफल संघ भएकाले संघले गरेका कामको उदाहरण हेरेर समाजका अन्य धेरै महिलालाई प्रोत्साहन मिल्ने धारणा राख्नुभयो । मुलुकमा विकासको सम्भावना प्रशस्तै भएपनि यस्ता सम्भावनाहरूको सही उपयोग गर्न नसक्दा विकासको गति सुस्त भएको उल्लेख गर्दै उहाँले महिला उद्यमशीलता विकासमा प्रभावकारी नीति नियम र कार्य पद्धति बनाएर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो ।
साधारणसभामा महिला उद्यमी संघ नेपाल, कास्कीका सल्लाहकारद्वय कुलदेवी बराल र सीता गुरुङलगायतले पनि बोल्नुभएको थियो । साधारणसभाले वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन आवश्यक छलफलसहित पारित गरेको छ भने केही बुँदामा संशोधित विधान समेत सर्वसम्मतिले पारित गरेको छ ।
महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष काशी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रथम उपाध्यक्ष पार्वती पौडेल रेग्मी र स्वागत द्वितीय उपाध्यक्ष मीना बरालले गर्नुभएको थियो ।

प्रकाशित मिति २८ पुष २०७५, शनिबार १४:१६