पर्वतमा खरको छाना भएका १ हजार ६२ घरमा जस्तापाता लगाइँदै

कात्तिक १५, पर्वत । पर्वत जिल्लामा १ हजार ६२ घरमा खर तथा फुसका छाना विस्थापित हुने भएका छन् । विपन्न परिवारको खरको छाना फालेर टिनको छाना बनाउने कार्यक्रम अन्तर्गत आगामी वर्ष भित्र काम पुरा गर्ने गरि कार्यक्रम शुरु भएको हो ।

जिल्लाका सात वटै स्थानीय तहमा टिनको छाना राख्नको लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने जनाईएको छ । मोदी र महाशिला गाउँपालिकामा एक बर्ष भित्रै खरको छानो मुक्त हुने भएका छन् ।

पर्वतमा यस बर्ष मोदी गाउँपालिकामा ८६ घरधुरीमा खरको छानोलाई टिनको छानो लगाइने छ भने महाशिला गाउँपालिकामा २ सय ५० घरमा टिनको छानो लगाइनेछ । विहादी गाँउपालिकामा २ सय घर, जलजला गाँउपालिकामा १ सय १० , फलेबास नगरपालिमा १ सय ३४ घर, पैयु गाँउपालिकामा १ सय ४० घर र कुश्मा नगरपालिकामा १ सय ४२ घरमा टिनको छानो फेर्ने कार्यक्रम रहेको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेलले स्थानीय सरकारले खरको छानो फेर्ने कामको थालनी गरिसकेको जानकारी दिनुभयो ।

पर्वत जिल्लामा स्थानीय तहहरुको तथ्याङ्क अनुसार दुई हजार २ सय घरधुरीहरुमा खरको छाना रहेका छन् । आगामी वर्ष भित्र जिल्लाभर खरको छाना मुक्त भई पर्वत जिल्ला नै खर (फुस) को छना मुक्त जिल्ला हुनेछ । यस कार्यक्रमले ग्रामिण ईलाकामा गरिबीको कारण चुहिने छाना मुनि बस्न बाध्य जनताहरूलाई राहत पुग्ने भएको छ ।

खरको छानामा आगालागीका घटनाहरु पनि हुने भएकाले सरकारले खरको छाना फेर्ने कार्यक्रम शुरु गरेको बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ००:३९