कोरोनाले मृत्युको तथ्यांकै गलत

कात्तिक १५, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको कोभिड–१९ बाट मृत्यु भएकाको संख्या वास्तविकभन्दा निकै कम रहेको पाइएको छ । मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म देशभर ९ सय २० जनाको मृत्यु भएको छ तर वास्तविक संख्या १४ सयभन्दा माथि रहेको प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक र सेनाले व्यवस्थापन गरेका शवको संख्याले देखाउँछन् ।

सबै प्रदेशका सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई मात्रै जोड्दा पनि मृतकको संख्या एक हजार ९७ पुग्छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० को समन्वयमा नेपाली सेनाले कात्तिक १२ गतेसम्ममा १४ सय हाराहारी शव व्यवस्थापन गरिसकेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ । सबै संक्रमित शव सेनाले व्यवस्थापन गर्ने गरेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर केही दिनपछि मात्रै यकिन तथ्यांक उपलब्ध गराउन सकिने जानकारी दिए । ‘यसअघि हामीले शव व्यवस्थापनको तथ्यांक सार्वजनिक गर्दा करिब दुई सय हाराहारीले मन्त्रालय र हाम्रो संख्या मेल खाएको थिएन । त्यसपछि सीसीएमसीले तथ्यांक रुजु गर्दै छ,’ उनले भने, ‘सबै रुजु भइसकेपछि मात्रै औपचारिक तथ्यांक बताउन मिल्छ ।’

प्रवक्ता पौडेलले सेनाको पूर्वी पृतनादेखि सुदूरपश्चिम पृतनासम्मले गरेको होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापनको तथ्यांक भने उपलब्ध गराएका छन् । उनका अनुसार कात्तिक १२ गतेसम्म सेनाले होम आइसोलेसनमा मृत्यु भएका ३५ महिला र ७१ पुरुष गरेर १ सय ६ जनाको शव व्यवस्थापन गरेको छ । उपत्यका पृतनाले मात्रै १० महिला र २० पुरुष गरी ३० जनाको शव व्यवस्थापन गरिसकेको छ । असोज ३० सम्म कोरोनाले मृत्यु भएका ८ सय ८९ जनाको शव नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।

त्यो दिन स्वास्थ्य मन्त्रालयले रेकर्डमा मृतकको संख्या ७ सय १५ मात्रै थियो अर्थात् एकै दिन विवरणमा १ सय ७४ फरक परेको थियो । संख्यामा यसरी ठूलो अन्तर देखिनुको कारणबारे सैनिक प्रवक्ता पौडेलले केही टिप्पणी गर्न चाहेनन् । ‘त्यसबारे स्वास्थ्य मन्त्रालयले नै बोल्दा उचित हुन्छ । हामीले त लगाएको काम गरेका मात्रै हौं,’ उनले भने । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले शुक्रबारसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार त्यहाँ १ सय ८५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ सय १५ जनाको मात्र मृत्यु भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबारसम्म त्यहाँ १ सय ८५ जनाको ज्यान गइसकेको छ भने स्वास्थ्यको तथ्यांकमा मृतक संख्या १ सय ५७ मात्रै छ ।

वाग्मतीको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको मृतकको संख्या भने स्वास्थ्यको तथ्यांकभन्दा कम छ । प्रदेशका अनुसार कुल मृतक संख्या ४ सय ४४ छ भने स्वास्थ्य मन्त्रालयले ४ सय ४७ रहेको जनाएको छ । गण्डकी प्रदेश सरकारका अनुसार त्यहाँ शुक्रबारसम्ममा ७५ जनाको मृत्यु भएको छ । स्वास्थ्यको तथ्यांकमा भने त्यहाँ ४८ जनाको मात्रै ज्यान गएको देखिन्छ । लुम्बिनी सरकारका अननुसार बिहीबारसम्ममा त्यहाँ मृत्यु भएकाको संख्या १ सय ७० छ भने स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म नै गरेर १ सय २६ जनाको मात्रै ज्यान गएको उल्लेख गरेको छ ।

यस्तै कर्णाली प्रदेश सरकारका अनुसार त्यहाँ हालसम्म १५ जनाको ज्यान गएको छ । स्वास्थ्यको तथ्यांकमा भने मृतक संख्या १० मात्रै छ । सुदूरपश्चिम सरकारले शुक्रबारसम्म २३ जनाको मृत्यु भएको उल्लेख गरे पनि स्वास्थ्य मन्त्रालयले १७ जनाको मात्रै ज्यान गएको जनाएको छ ।साभार–कान्तिपुर दैनिवाट

प्रकाशित मिति १५ कार्तिक २०७७, शनिबार ०२:१०