दुर्घटनाको खतरा ! कहिले फेरिएला ठुलोपोखरीमा काठेपोल ?

नेपाली आवाज÷पर्वत । कुश्मा नगर क्षेत्रभित्र धेरै ठाउँमा दशक पुराना काठेपोल छन् । मक्किएका यस्ता पोलले दुर्घटनाको जोखिम बढाएको छ । कुश्मा–१२ ठूलीपोखरीका अधिकांश टोलमा काठेपोलकै कारण विद्युतीय जोखिममा परेको स्थानीयले बताएका छन् ।

सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएका काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीय दीपक सापकोटाले बताए । ‘काठका पोल फेर्न धेरैपटक विद्युत् कार्यालयमा गयौं,’ उनले भने, ‘कसैले वास्तै गरेका छैनन् । हामीले बाँसका टेका लगाएर धानिएको छ ।’ सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उनले बताए ।

त्यस्तै कुश्माको वडा नम्वर १, २, ३, ८, ९, १३ र १४ वडामा समेत करिब दुई हजार काठेपोल जीर्ण हुँदै गएको स्थानीयले बताएका छन् । नगरपालिकाले अघिल्लो वर्ष नै काठेपोल बदलेर फलामे पोल गाड्ने योजना बनाएको भए पनि सबै वडामा एकैसाथ बदल्न नसकिएको नगरप्रमुख रामचन्द्र जोशीले बताएका छन् । ‘एउटा पोल खरिद गर्न १७ हजार हाराहारी लाग्दोरैछ,’ उनले भने, ‘नगरको सबै बजेट विद्युत्मै लगाउन सकिँदैन । अत्यावश्यक स्थानमा प्राधिकरणसँग सल्लाह गरेर बदलेकै छौं ।’आजको कान्तिपुरमा खवर छ ।

प्रकाशित मिति १ माघ २०७५, मंगलवार ०५:११