कक्षा–१२ को परीक्षा : पुरानै मोडेलमा प्रश्न, समय र अंकभार घट्ने

कात्तिक १६, काठमाडौँ । ९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षामा पुरानै मोडेलमा प्रश्नपत्र तयार भए पनि समय र प्रश्नको भार कम हुने भएको छ । अघिल्ला वर्षको मोडेलअनुसरण गर्दै डेढ घन्टामा हल हुने गरी प्रश्न सोध्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ । जस्तो– ८० पूर्णांकको विषय छ भने त्यसको ४० प्रतिशत अर्थात् ३२ अंकका लागि मात्रै परीक्षा लिइनेछ । सैद्धान्तिक र प्रयोगात्मकको अंक विषयअनुसार फरक छन् ।

प्रश्नपत्र पुरानै मोडेलमा भए पनि प्रश्न संख्या घट्ने बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘प्रश्न सोधिने समूह विगतजस्तै हुन्छन्, भार मात्र घट्ने हो । तर, सबै कोर्स समेट्ने गरी प्रश्न सोधिने भएकाले विद्यार्थीले सबै युनिट पढ्नुपर्छ,’ उनले भने । मुख्य विषयका मोडेल प्रश्न तयार गरी १(२ दिनमा बोर्डको वेबसाइटमा राखिने उनले जानकारी दिए ।

प्रकाशित मिति १६ कार्तिक २०७७, आईतवार ०४:२६