गण्डकी प्रदेश सरकारले चार विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय

नेपाली आवाज–पोखरा । गण्डकी प्रदेश सरकारले एकैसाथ चार विधेयक प्रदेशसभामा लैजाने भएको छ । प्रदेश सरकार मन्त्रीपरिषदो सोमबारको बैठकले विभिन्न मन्त्रालयअन्तर्गतका ती विधेयक लैजाने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत प्रदेश औद्योगिक व्यवसाय र ताल संरक्षण तथा विकास प्राधिकरण विधेयक प्रदेशसभामा लगिनेछ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्रालयको सुर्तीजन्य पदार्थ, नियन्त्रण र नियमन गर्न बनेको विधेयक पनि लगिनेछ । ‘चार विधेयक एकैदिन प्रदेशसभामा लैजाने निर्णय भयो,’ मन्त्रिपरिषद् बैठकपछि बस्नेतले भने, ‘माघ ४ गतेभित्र प्रदेशसभा सचिवालयमा दर्ता हुनेछन् ।’

हिउँदे अर्थात् विधेयक अधिवेशनमा एउटै विधेयक नपठाएर प्रदेशसभालाई बिजनेसविहीन बनाउन लागेको समाचार सार्वजनिक भइरहँदा प्रदेश सरकारले विधेयक लैजाने निर्णय गरेको हो ।

प्रकाशित मिति १ माघ २०७५, मंगलवार ०५:१६