केन्द्रको स्वीकृतिविना भगिनी सम्बन्ध स्थापना नगर्न आग्रह

कात्तिक २०, काठमाडौँ । केन्द्र सरकारको पूर्वस्वीकृतिविना विभिन्न देशका शहरहरुसँग भगिनी सम्बन्ध कायम नगर्न देशभरका स्थानीय तहलाई आग्रह गरेको छ ।

सरकारको स्वीकृतिविना विभिन्न देशका स्थानीय तहसँग भगिनी सम्बन्ध गाँसेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई पत्र लेखर सो आग्रह गरेको हो । मन्त्रालयको सचिवस्तरको बैठकले स्थानीय तहलाई आग्रह गर्ने निर्णयअनुरुप सो पत्राचार गरिएको मन्त्रालयको विकास समन्वय सहायता शाखाका अधिकृत नमिता रेग्मीले जानकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐनविपरीत स्थानीयहरुले आफूखुसी विभिन्न देशका शहरबीच भगिनी सम्बन्ध कायम गर्न थालेपछि मन्त्रालयले बैठक बसेर सो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार भगिनी सम्बन्ध कायम गर्न मन्त्रालयको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने र स्वीकृति लिँदा तोकिएको ढाँचाबमोजिम मात्र सम्झौता गर्नुपर्ने छ । विभिन्न स्थानीय तहले तोकिएको ढाँचाबाहेक फरक बेहोरा राखेर समेत सम्झौता गर्ने गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार ०३:२४