किरण चेम्जोङको कप्तानीमा नेपाली फुटबल टोली बङ्गलादेश प्रस्थान

कात्तिक २०, काठमाडौँ । गोलकीपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको नेपाली फुटबल टोली बिहीबार बङ्गलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले बङ्गलादेशको एक हप्ते बसाइमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ ।

लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बङ्गलादेश जाँदै गर्दा निकै उत्साहित देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा आठ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोलीबाहिर रहेका छन् । यस्तै अन्य सात खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेशनमा छन् ।

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् ।
नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले प्रस्थान गर्नुअघि टोलीको कोरोना पीसीआर परीक्षण गरेको थियो । त्यस परीक्षणमा दुई खेलाडीमा कोरोना देखिएको थियो । टोलीले बङ्गलादेशमा एक हप्ता बिताएपछि मात्रै मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति २० कार्तिक २०७७, बिहीबार १०:००