कालीगण्डकी करिडार प्रसारण लाईनका घरजग्गा धनीलाई मुआब्जा

कात्तिक २१, पर्वत । कालीगण्डकी करिडोर विद्युत प्रसारण लाईनका घरजग्गा धनीलाई मुआब्जा वितरण गर्न शुरु भएको छ । पर्वत र म्याग्दी जिल्लाका बासिन्दालाई मुआब्जा वितरण गर्न शुरु भएको आयोजना कार्यालयले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिको वडा नम्बर १, २, ३, ६ र ७, रघुगङ्गा गाउँपालिकाको १, २ र ३ तथा पर्वतको कुश्मा नगरपालिकाको १ र २ , जलजला गाउँपालिकाको १, २, ३, ६, ७ र ८ नम्बर वडामा कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले मुआव्जा वितरण गर्न थालेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको आठ वटा वडामा ४९५ कित्ता जग्गा र १९ वटा संरचनाका धनीलाई रु १० करोड पाँच लाख क्षतिपूर्ति वितरण गर्न थालिएको छ । पर्वतमा तीन करोड ९७ लाख र म्याग्दीमा चार करोड १७ लाख मुआब्जा वितरण भएको छ । टावर निर्माण हुने जग्गालाई चार वर्गमा बाँडेर प्रतिरोपनी पाँच लाखदेखि १३ लाखका दरले मुआब्जा दिइएको थियो ।

आयोजना प्रमुख चन्दनकुमार घोषले ३९ दशमलब ६ किलोमिटर दूरीको प्रसारण लाइनको मध्यभागबाट दायाँ र बायाँ १५÷१५ मिटरभित्र पर्ने निजी जग्गा र संरचनाका धनीलाई क्षतिपूर्ति वितरण गर्न शुरु गरेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित स्थानीय तह र वडाका जनप्रतिनिधिसहितको बैठकले प्राविधिक समितिले तयार पारेको प्रतिवेदन तथा मूल्याङ्कनका आधारमा टावर प्याडमा निर्धारण भएको मुआब्जाको १० देखि २५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको थियो ।प्रसारण लाइनको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा संरचना निर्माण र रुख बिरुवा रोप्न नपाउने भएकाले क्षतिपूर्ति दिने व्यवस्था छ ।

लाइनको अधिकार क्षेत्रमा पर्ने जग्गामा खेतीबाली लगाउन भने पाइन्छ । क्षतिपूर्ति लिनका लागि बैंकमा खाता खोलेर वडा कार्यालयको सिफारिससहितका कागजात लिएर बेनीस्थित कार्यालयमा सम्पर्क गर्न आयोजना प्रमुख घोषले प्रभावितलाई आग्रह गर्नुभयो । प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना दुई वर्ष ढिला गरी सकिन लागेको हो ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार ०२:०३