राष्ट्रियसभाका अध्यक्ष र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपाली आवाज । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गरेका छन्। सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई व्यक्त गरेका हुन्।

उक्त शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताए। ‘नेपालको सामाजिक, आर्थिक विकासमा चीनले प्रदान गर्दै आएको सहयोगका लागि कृतज्ञ छौं,’ उनले भने, ‘नेपालमा आगामी मार्च हुने लगानी सम्मेलनमा पनि चीनबाट उच्च लगानीको प्रतिबद्धता आउने अपेक्षा राखेका छौं।’

अध्यक्ष तिमिल्सिनाले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी हुने प्रतिबद्धता व्यक्त गरिसकेको बताउँदै यसबाट नेपाल र चीनबीच आर्थिक गतिविधिमा वृद्धि हुने अपेक्षा राखे।

प्रकाशित मिति १ माघ २०७५, मंगलवार ०५:४०