पर्वतको पर्यटन विकासमा सहयोग गर्न सरकारसँग पूर्व साँसद जोशीको माग

कात्तिक २१, पर्वत । गृहसचिव महेश्वर न्यौपाने, ससत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकृतहरुले नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशी सँग भेटघाट गरेका छन् ।

भेटमा पर्वतको समग्र पर्यटन प्रबर्दन र जिल्लाको शान्ती सुरक्षाको अवस्थाका बारेमा छलफल भएको थियो । जोशीले जिल्लाको पर्यटनको राम्रो संभवना रहेको र सरकारले पर्वतको पर्यटन विकासमा विशेष सहयोग गर्न गृहसचिव न्यौपानेलाई सुझाव दिनुभयो ।

जोशीले अहिले कोभिड १९ का कारण पर्वतमा विकास निर्माण देखि व्यापार व्यवसायहरुमा ठूलो असर देखिएको बताउँदै सरकारले विशेष प्याकेज ल्याएर धरासायी बनेको क्षेत्रको पुनस्र्थान गर्न आवश्यक रहेको बताउनुभएको थियो ।

भेटमा नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिद्धान गुरुङले जिल्लाको समग्र शान्ति सुरक्षा र विकास निर्माण तथा कोभिडले पारेको असरका बारेमा सरकारले उचित रुपमा समाधान गर्न कुनै पहल नगरेको गुनासो गर्नुभयो ।

गृहसचिव न्यौपाने सहित सुरक्षा निकायका प्रमुखहरुले प्राप्त सुझावहरु उपयुक्त रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैविच गृहसचिव महेश्वर न्यौपानेले कोभिड १९ को जोखिम न्यूनिकरण गर्दै विकास निर्माण र समग्र जिल्लाको शान्ति सुरक्षा र जन जिविका सहज बनाउने काममा भूमिका खेल्न पर्वत, बागलुङ र म्याग्दीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।

पर्वतको कुश्मामा शुक्रवार तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र जनप्रतिनिधीहरुलाई भेट गरि न्यौपानेले उक्त निर्देशन दिनुभएको हो । अहिले देशभरि कोभिड १९ को असरका कारण जनजीवन प्रभावित भएको र विकास निर्माण तथा आर्थिक गतिविधिहरुमा असर देखिएको बताउँदै यो परिस्थितीलाई सजग र सचेत बनी समाधान गर्ने तर्फ स्थानीय प्रसासनले चनाखो भएर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

न्यौपानेले लकडाउनले मात्रै कोभिडको समस्या समाधान नहुने भएकाले सचेतना जगाउने र सजगता अपनाउने कुरामा जनमानसमा जागरण पैदा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको समग्र बस्तुस्थितीका बारेमा जानकारी गराउनुभएको थियो ।

छलफल कार्यक्रममा ससत्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्याल लगायत सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति २१ कार्तिक २०७७, शुक्रबार १४:३०