प्रदेशमा ‘इन्सपेक्टर’ सम्म भर्ना

नेपाली आवाज । प्रत्येक प्रदेश प्रहरीमा प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ सम्म भर्ना गर्न पाइने व्यवस्था राखेर विधेयक ल्याइएको छ। गृहमन्त्रालयले सो प्रावधानसहित सोमबार प्रतिनिधिसभामा ‘नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी विधेयक’ दर्ता गरेको हो।

विधेयक पारित भएमा प्रदेशमा प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म भर्ना गर्न पाइनेछ। तर प्रदेशमा रहने प्रहरी प्रमुख नेपाल सरकारले तोक्ने व्यवस्था गरिएको छ भने डिएसपी वा सोभन्दा माथिको दर्जाको प्रदेश प्रहरीको पदमा नेपाल प्रहरीको दरबन्दी कायम गरिने व्यवस्था गरिएको छ। यसबाट प्रहरी निरीक्षकभन्दा माथिल्लो दर्जाका कर्मचारी केन्द्रबाट नै निर्धारण गरिनेछ। प्रदेश प्रहरीको खुला प्रतियोगिताबाट नियुक्ति गर्नुपर्ने पदमा प्रदेश लोकसेवा आयोगको सिफारिसमा नियुक्ति गर्ने व्यवस्था गरिएको छ।

नेपालको संविधानको धारा २ सय ६८ को उपधारा ९२० मा भएको व्यवस्थाबमोजिम विधेयक ल्याइएको हो। प्रहरीको छाता ऐनका लागि ल्याइएको सो विधेयक पारित भएपछि नेपाल प्रहरीका कर्मचारीलाई प्रदेश प्रहरीमा समायोजन गरिनेछ। प्रदेश प्रहरीमा समायोजन भएपछि मात्र प्रदेश प्रहरीको गठन हुनेछ।

प्रत्येक प्रदेशमा रहेका आन्तरिक मामिलासम्बन्धी मन्त्रालयअन्तर्गत प्रदेश प्रहरी संगठन रहनेछ। प्रमुख जिल्ला अधिकारी जिल्लाको सुरक्षाको प्रमुखका रूपमा राखिएको छ। प्रमुख जिल्ला अधिकारीको नियन्त्रण र निर्देशनमा जिल्लाका प्रहरी कर्मचारी रहनेछन्। जिल्लाभित्रको शान्ति सुरक्षा कायम गर्न प्रमुख जिल्ला अधिकारीले प्रदेश प्रहरी खटाउने छ।

प्रकाशित मिति १ माघ २०७५, मंगलवार ०८:२९