पर्वतको कुश्मामा आईतवार देखि बिद्यालय खोल्ने निर्णय

मंसिर ४, पर्वत । कोरोना भाईरस (कोभिड(१९) को कारण बन्द भएका पर्वतको कुश्मामा रहेका बिद्यालय आगामी आईतवार देखि खुल्ला गर्ने निर्णय भएको छ । कुश्मा नगरपालिकामा बिहिवार बसेको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निणर्य गरेको हो ।

झण्डै ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेका कारण आईतवारदेखि नियमित रुपमा विद्यालय संचालन गर्न नगरप्रमुख रामचन्द्र जोशीले निर्देशन दिनुभएको छ । विद्यालयले आफ्नो अवस्था हेरेर पठनपाठनलाई कसरी व्यवस्थित गर्न सक्छ सोहि अनुसार व्यवस्थापन गर्नेगरी खोल्ने निणर्य गरिएको नगरप्रमुख जोशीले बताउनुभयो ।

लामो समय विद्यालय बन्द भएकाले पठन पाठन प्रभावित भएको र जिल्लामा जोखिमको अवस्था पनि न्यून हुँदै गएकाले विद्यालय संचालन गर्ने निणर्य गरिएको कुश्मा नगरपनलिकाको शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर विद्यालय खोल्न भनिएको हो । विद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सवै कक्षा संचालन गर्ने वा विहान, दिउँसो र साँझ गरेर भौतिक दुरी कामय हुनेगरी संचालन गर्ने भन्ने विषयमा के सम्भव हुन्छ सोहि पद्धति अपनाएर विद्यालय खोल्ने निणर्य गरिएको उहाँले बताउनुभयो ।

लक लडान भएपछि गएको जेठदेखि निजि विद्यालयहरुले अनलाईन कक्षा संचालन गर्दै आएका थिए भने केहि सामुदायिक विद्यालयले अनलाईन र केहि विद्यालयहरुले टोल शिक्षा संचालन गरेर पढाउँदै आएपनि प्रभावकारी नदेखिएपछि नगरपालिकाले विद्यालयनै खोलेर पठनपाठन सुचारु गर्न आग्रह गरेको हो । त्यस्तै कुनै विद्यार्थी वा शिक्षकलाई कुनै स्वास्थ्य समस्या आइपरेमा पनि विद्यालयले तत्काल आवश्यक निणर्य गरी पठनपाठनलाई रोक्ने र सुचारु गर्ने बारे निणर्य गर्न सक्ने पनि नगरपालिकाले जनाएको छ ।

बैठकमा सहभागि सामुदायिक तथा निजि विद्यायका व्यवस्थापन समितिका पदाधिकारी तथा संचालकहरुले भौतिक दुरी कायम गरेर विद्यालय संचालन गर्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति ४ मंसिर २०७७, बिहीबार १४:२७