कोरोना बारे सचेतना फैलाउन जनप्रतिनिधि घर–घरमा पुगौं : अध्यक्ष तिमिल्सिना

मंसिर ७, पर्वत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
काठमाडौंमा शनिबार आयोजित ‘कोभिड(१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको हो।
कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्,’ बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उहाँले भन्नुभयो, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो।’
उहाँले कोरोनाको महामारी सुरु हुँदा र अहिले लाखौंको संख्यामा पुग्दा एउटै धारणा वा तयारीले नपुग्ने भएकाले परिस्थितिअनुसार सरकारले योजना बनाउनुपर्ने बताउनुभयो। त्यसैगरी जनप्रतिनिधिले पनि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्ड तथा सरकारको निर्देशनलाई कार्यन्वयनमा साथ दिनुपर्ने धारणा तिमिल्सिनाले राख्नुभयो।
‘कोरोना सुरु हुँदा सरकारले गरेको लकडाउन पालना गराउन हामीले आफ्ना जनतालाई घरमै बस्नै आग्रह गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘अहिले संक्रमण लाखौंमा पुगिसकेको र उपचार नभएको अवस्थामा जनप्रतिनिधिले भोट माग्न पुगेजस्तै घर(घरमा जनचेताना फैलाउन पुग्न जरुरी छ।’
महामारीलाई नियन्त्रण सम्बन्धि सचेता फैलाउनका लागि राजनीतिक दलले आफ्ना संगठनहरूलाई पनि गाउँ(गाउँमा परिचालिन गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो।
‘आपत परेको बेला हामी जनतामा पुगेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो, ‘राजनीतिक दल सँगै नागरिक समाज र निजी क्षेत्रले पनि महामारी नियन्त्रणका लागि सकारात्मक सहयोग गर्न सक्दछ।’
कोरोना विकसित मुलुकमा समेत भयावह भैरहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले पैसाले नभई स्वास्थ्य मापदण्डको पालना गर्दा कोरोना नियन्त्रण हुने बताउनुभयो।
अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभयो।

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ००:३१