प्रहरी प्रशासनकै मिलेमत्तोमा अबैध क्रसर संचालनमा,गाउँपालिकाको निर्णय लत्याउदै बागेश्वरी ब्लक उद्योग

मंसिर ७, पर्वत । जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा अबैध रुपमा सञ्चालनमा रहेको क्रसर उद्योगमा जलजला गाउँपालिकाले सुचना टाँस गरी असोज ४ मा बन्द गराएको घोषणा ग¥यो । तर उक्त उद्योग अहिले पनि नियमित सञ्चालनमा छ । बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा सञ्चालनमा रहेको क्रसर उद्योगलाई जलजला गाउँपालिकाको कार्यपालिका बैठकले बन्द गराउने निर्णय गरी सुचना टाँस गरेर प्रहरी प्रशासनकै रोहबरमा बन्द गराएको घोषणा गरेको थियो । तर, विभिन्न राजनीतिक दबाबमा पर्वत प्रहरी प्रशासनले उक्त उद्योगलाई नियमित रुपमा सञ्चालन गर्न दिएको पाइएको छ । जलजला गाउँपालिकाको कार्यपालिकाको बैठकले निर्णय गरी बन्द गराउनका लागि प्रहरी प्रशासनमा निर्णयसहित पठाएपनि प्रहरी प्रशासनको असहयोगले अबैध क्रसर उद्योग सञ्चालनमा रहेको जलजला गाउँपालिकाले जनाएको छ । जलजला–७ का बागविर घर्ती क्षेत्री र शिवबहादुर घर्ती क्षेत्रीले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगको नाममा उक्त क्रसर चलाउदै आएका छन् ।
अबैध रुपमा ब्लक उद्योगको नाममा क्रसर चलाएको र उक्त क्रसरले मापदण्ड बिपरित कालीगण्डकी नदी दोहन गर्दै आएको भन्दै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी गर्दै आएका थिए । अख्तियारले जलजला गाउँपालिकामा यथार्थ बुझेर खुलाई पठाइदिन अनुरोध गरेपछि गाउँपालिकाले स्थलगत रुपमा अनुगमन गर्नका लागि अनुगमन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा गाउँकार्यपालिकाको बैठकले त्यस ब्यावसायलाई कानुनी प्रक्रिया पु¥याई सञ्चालन गर्न गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि कुनै कागजात पेश नगरेको र क्रसर उद्योग सञ्चालन सम्बन्धी प्रचलित कानुनी ब्यवस्था र गाउँपालिकाले दिएको निर्देशनको बारम्बार अवज्ञा गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले यसअघि ०७६ बैशाख ९ मा उद्योग बन्द गर्न निर्देशन दिएको थियो । तर पालिकाको सम्पूर्ण निर्देशन अटेर गरेपनि गाउँपालिकाले ब्यापारिक फर्मको दर्ता, अनुमति, नविकरण, खारेजी, अनुगमन र नियमन कार्यविधि २०७५ को दफा १० को उपदफा ४ बमोजिम आठौ गाउँसभाले बागेश्वरी एग्रीगेट एण्ड ब्लक उद्योगलाई खारेज गर्ने र गाउँपालिकाबाट उपलब्ध हुने सेवा सुविधा बन्द गर्ने निर्णय गरेको थियो । त्यतिगर्दा पनि क्रसर सञ्चालनमा रहेपनि स्थानीय प्रशासनसहित गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को ञ (६) को अधिकार प्रयोग गरी असोज ४ मा उद्योगमै पुगेर बन्द गराएको थियो । तर अहिले बन्द गराएको भनिएको उद्योग नियमित रुपमा सञ्चालन हुँदै आएको छ ।
प्रहरी प्रशासनलाई पटक–पटक ताकेता गर्दा पनि गाउँपालिकाको निर्णय कार्यान्वयनका लागि स्थानीय प्रहरी प्रशासनले नै असहयोग गरेको जलजला गाउँपालिकाले जनाएको छ । ‘स्थानीय सरकारको निर्णय कार्यान्वयन गराउनका लागि सहयोग नगर्ने हो भने पर्वतमा प्रहरी प्रशासन किन चाहियो ?’ जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भने । उनले देशभर अहिले पुरानो मापदण्डमा झण्डै आठ सय बढी क्रसर उद्योग सञ्चालनमा रहेपनि ब्लक उद्योगको नाममा क्रसर चलाउने उद्योगलाई बन्द गराउदै आएको बताए । ‘गैरकानुनी रुपमा भएका गतिविधि रोक्न पर्वत प्रहरी प्रशासनले गाउँपालिकालाई गरेको असहयोग आश्चर्यजनक छ’ अध्यक्ष मल्लले भने ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले क्रसर उद्योग चलाउने भएमा सबै प्रक्रिया पु¥याउनका लागि लामो समय गाउँपालिकाले समय दिएपनि गाउँपालिकामा एउटा कागजात पनि पेश नगर्ने र अटेर गरेपछि बाध्य भएर अनुगमन समितिको प्रतिवेदनका आधारमा गाउँसभाको निर्णयको आधारमा बागेश्वरी ब्लक उद्योगले चलाएको क्रसर उद्योग सुचना टाँस गरेर बन्द गराएको जानकारी दिए । ‘स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकारले गरेको निर्णय कार्यान्वयन गर्न प्रहरी प्रशासनको पनि उत्तिकै जिम्मेबारी र दायित्व हो’ उनले भने–‘पर्वत प्रहरी प्रशासनले किन त्यस्तो गरिरहेको छ ?’

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ००:४४