चितवन घटनापछि सुरेन्द्र पाण्डे भन्छन्– गैरराजनीतिक चरित्र देखाइयो, जसले प्रश्रय दिन्छ ऊ पनि सिद्धिन्छ

मंसिर ७, काठमाडौँ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः जिल्ला–जिल्लामा विस्तार हुँदै गएको छ । ओली र प्रचण्डले १३ मंसिरमा डाकिएको केन्द्रीय सचिवालय बैठकमा आरोप–प्रत्यारोपसहितको बेग्ला–बेग्लै राजनीतिक दस्ताबेजमा छलफलको तयारी गरिरहेका वेला केन्द्रीय विवाद जिल्ला–जिल्लामा विस्तार हुँदै गएको हो ।

दुवै समूहका नेता–कार्यकर्ता अर्को समूहका नेताविरुद्ध नाराबाजी गर्ने, बेग्ला–बेग्लै भेला गरेर गुट विस्तार र सुदृढ गर्ने तहमा सक्रिय बनेका छन् । चितवनको वीरेन्द्रनगरमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि दुव्र्यवहारको प्रयास भएको छ भने सुर्खेतमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले जबजका पक्षमा प्रदेशस्तरीय खेलाडी भेला गरेको छ ।

चितवनमा नेकपा राप्ती नगर कमिटीले आयोजना गरेको बैठकमा ओली समूहका कार्यकर्ताले स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री पाण्डेको सम्बोधन बिथोल्दै अभद्र व्यवहार गर्ने प्रयास गरेका छन् । चितवन– १ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पाण्डेले सम्बोधन गरिरहेका वेला ओली समूहका करिब एक दर्जन कार्यकर्ताले नाराबाजी गर्दै बैठक बिथोल्ने प्रयास गरेका थिए । साभार–नयाँ पत्रिकावाट

प्रकाशित मिति ७ मंसिर २०७७, आईतवार ०१:३६