नेकपालाई दुई तिहाई पचेन : काँग्रेस नेता मल्ल

झण्डै दुईतिहाइ बहुमतका साथ सरकारको जिम्मा पाएको नेकपाको आन्तरिक झगडाले मुलुकमा लोकतन्त्रमाथि नै अफ्ठ्यारो पर्ने खतरा बढिरहेको छ । सरकारले ल्याएको समृद्ध नेपाल र सुखी नेपालीको नारा नारामै मात्र सिमित छ । सरकार जनतालाई राहत दिनेभन्दा भ्रष्टाचारी र अपराधीहरुको संरक्षण गर्नमा व्यस्त छ ।

ओली सरकारको मनपरी र ज्यादतीलाई स्वयं आफ्नै पार्टीका नेता र कार्यकर्ताहरुले समेत सहन नसकेपछि पार्टीभित्र तिव्र अन्तरविरोध उत्पन्न भएको छ । यो अन्तरविरोधले नेकपा विभाजन हुने दिशातिर अघि बढिरहेको देखिन्छ । स्पष्ट बहुमत दिएर जनताले पाँचबर्षलाई सरकार चलाउ भनेर जिम्मा दिँदासमेत सरकार चलाउन नसक्ने अवस्था नेकपाभित्र देखा परको छ ।

देश र जनताका लागि यो भन्दा दुर्भाग्य के होला ? २०६४ को संविधानसभाको निर्वाचनमा पनि नेपाली जनताले कम्युनिष्टहरुलाई झण्डै दुईतिहाइ जनमत दिएर पठाएका थिए तर चार÷चारजना कम्युनिष्ट नेताहरु देशको प्रधानमन्त्री भएर पनि देशलाई संविधान दिन नसकेजस्तो अहिले पनि दुईतिहाई जनमत नेकपालाई झन् अभिशाप देखिएको छ । नेकपाले सरकार चलाएर देशलाई समृद्ध बनाउने र जनतालाई खुसी दिने सम्भावना अब छैन । अहिले सरकार परिवर्तनको हल्ला पनि चलिरहेको छ । यस्तोवेला काँग्रेस सरकारमा जानुहुँदैन भन्ने विचारहरुपनि आइरहेका छन् ।

एउटा दृष्टिकोणबाट ती विचारलाई पनि ठिकै मान्न सकिएला तर सरकार संचालनमा नेकपा पूर्णतया असफल भइसकेपछि प्रमुख प्रतिपक्षी दलको हिसावले देशको नेतृत्व लिनुपर्ने नैतिक दायित्व पनि काँग्रेसलाई आउँछ । आवस्यक परे त्यो जिम्मेवारी लिएर राष्ट्रिय संकटबाट देशलाई मुक्ति दिनुको विकल्प छैन ।

जय देश जय नेपाल।

रामकृष्ण मल्लको बिचार हामीले उहाँको फेसबुक मार्फत साभार गरेका हौँ । उहाँ नेपाली काँग्रेस पर्वतका कोषाध्याक्ष एवम् जलजला गाउँपालिका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०२:०१