पर्वतको डिमुवामा एक घर एक पिसिआर, स्वाबको नजिता नआउँदासम्म डिमुवा बजार बन्द

मंसिर ९, पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ६ तिलाहारको डिमुवा बजार बन्द हुने भएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै वडा स्तरीय निर्णयबाट स्वाब संकलनको नतिजा नआउँदासम्म डिमुवा बजार बन्द गर्ने निर्णय भएको हो ।
वडा न ६ का वडा अध्यक्ष तथा मोदी गाउँपालिकाका प्रवक्ता बिमल लामिछानेका अनुसार कोरोना संक्रमणकै कारण एक जना पुरुषको मृत्यु भएपछि स्थानीय अरुमा पनि संक्रमण भए नभएको परिक्षण कार्यका लागि एक घर एक पिसिआर अभियान चलाइने भएको छ ।

कोरोना संक्रमणको कारण कार्तिक ६ गते डिमुवा बजारमा बस्ने एक जना ६१ बर्षिया पुरुषको मृत्यु भएको थियो । कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुन थालेपछि वडा स्तरीय निर्णयबाट कोभिड १९ को प्रारम्भिक फैलावट स्वरुप परिक्षणका लागि डिमुवा बजार स्थित जनसमुदायमा एक घर एक जनामा स्वाब परिक्षण तथा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा थप स्वाब परिक्षण गर्ने निर्णय भएको छ ।

यसरी स्वाब परिक्षण गर्दा स्वाबको नतिजा नआउँदासम्म बजार, ब्यापार र ब्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष लामिछाने जानकारी दिए । पर्वत जिल्लामा आज मात्रै थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा ४ जना जलजला गाउँपालिकाका र २ जना फलेवास नगरपालिकाका स्थानीयहरु रहेका छन् ।

प्रकाशित मिति ९ मंसिर २०७७, मंगलवार ०२:३४