बिपी प्रतिष्ठान उपकुलपतिका १० जना सल्लाहकार, स्वास्थ्य मन्त्री ढकालका ज्वाइँ र भतिजालाई पनि नियुक्ति

मंसिर १०, काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य मन्त्रीका ज्वाइँ र भतिजालाई सल्लाहकारको नियुक्ति दिइएको छ। उपकुलपति डा. ज्ञानेन्द्र गिरीले स्वास्थ्य मन्त्री भानुभक्त ढकालका ज्वाइँ र भतिजालाई नियुक्ति गरेर आफ्नो नातामा पर्ने एक स्वकीय सचिव पनि थपेका छन्। स्वास्थ्य मन्त्री ढकालका सहोदर बहिनीज्वाइँ विराटनगरका सुमन पन्तलाई कानुनी सल्लाहकार नियुक्त गरिएको छ। मन्त्री ढकालका भतिजा अमृत ढकाल जनसम्पर्क अधिकृत नियुक्त भएका छन्।

पन्त र ढकालको नियुक्ति कात्तिक ११ गतेदेखि लागू भएको प्रतिष्ठानका अधिकारीहरूले बताए। उपकुलपतिका नातेदार गणेश गिरीले मंसिर १ गतेदेखि स्वकीय सचिवको रूपमा नियुक्ति पाएका छन्।

जनसम्पर्क अधिकृत नियुक्त भएका ढकाल स्वास्थ्य मन्त्रीको घर तेह्रथुम छथर गाउँपालिका-५ का हुन्। उनी मोरङको सुन्दरहरैंचा नगरपालिकामा बोर्डिङ चलाउँथे। पन्त विराटनगरमा कानुन व्यवसायीको रूपमा काम गर्छन्। उनीहरूलाई अधिकृतभन्दा माथि फ्याकल्टी डाक्टरसरहको सेवासुविधा दिएर नियुक्ति दिइएको प्रतिष्ठानका अधिकारीहरूले बताए। ‘उहाँहरूको सेवा सुविधा फ्याकल्टी डाक्टरसरहको छ,’ एक अधिकारीले भने।

पछिल्लो नियुक्तिसमेत गरेर प्रतिष्ठानमा १० जना सल्लाहकार भइसकेका छन्। मन्त्री र उपकुलपतिले प्रतिष्ठानलाई भाइभारदारको भर्तीकेन्द्र नै बनाएका छन्। यी सबैको सेवासुविधा जोड्दा वार्षिक करोड रुपैयाँ पुग्ने ती अधिकारीले बताए। साभार –सेतोपाटीवाट

प्रकाशित मिति १० मंसिर २०७७, बुधबार १३:४५